श्रीलंकामा दोस्रो दिनपनि राजनीतिक अन्योलता कायमै
काठमाडौँ – विपक्षी पार्टीका नेताहरुले नयाँ राष्ट्रपति र प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटाउन नसक्दा श्रीलंकामा सोमबार पनि राजनीतिक अन्योलता कायमै रहेको छ ।
वर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षा र प्रधानमन्त्री रनिल विक्रमासिंघेको सरकारी निवास प्रदर्शनकारीले कब्जा जमाउँदै दुवैजनाले राजीनामा नदिएसम्म उक्त निवास नछाड्ने अडानमा छन् भने विपक्षी नेताहरु नयाँ राष्ट्रपति र प्रधानमन्त्री चयनका विषयमा छलफलमा रहेको रोयटर्सले जनाएको छ ।
गत शनिबार प्रदर्शनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्री निवासमाथि कब्जा जमाएका थिए र उनीहरु त्यही बसिरहेका छन् । श्रीलंकाको आर्थिक संकटका कारण आजित बनेका सर्वसाधारणले लामो समयदेखि प्रदर्शन गरिरहेका थिए ।
अहिले श्रीलंकामा इन्धन, खाद्यान्न, औषधी तथा अन्य अतिआवश्यक वस्तुहरुको चरम अभाव कायमै रहेको छ ।
यता प्रधानमन्त्री विक्रमासिंघेले नयाँ सरकार गठनका लागि सबै प्रकृया सुनिश्चित भएसँगै राजीनामा दिने बताएका छन् भने राष्ट्रपति राजापाक्षाले बुधबार राजीनामा दिने घोषणा गरेका छन् ।
यता सर्वदलीय सरकार निर्माणका लागि अहिलेका अन्य मन्त्रीहरुले पनि तत्काल राजीनामा दिने बताइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया