विश्व

माल्दीभ्स भागेका श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षे अब सिङ्गापुर जाने

इकागज |
असार २९, २०७९ बुधबार २०:२३ बजे

कोलम्बो- श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गरेका छन् ।

बुधबार सबेरै बिहान श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका राजापाक्षे मालेमा एक दिन पनि पूरा नबसी बुधबार राती सिङ्गापुर प्रस्थान गरेका हुन् ।


आफ्नै देश भित्र असुरक्षा भएको भन्दै देश छाडेर भाग्‍न चाहेका राजापाक्षेलाई भाग्‍नका लागि श्रीलंकाको सेनाले नै सहयोग गरेको छ । सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका हुन् ।

यसअघि उनकै अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्‍न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ ।

तत्कालीन राष्ट्रपति राजापाक्षेलाई भने रक्षा मन्त्रालयको आदेश र स्वीकृतीमा माल्दिभ्स लगिदिएको श्रीलंकाको सेनाले जनाएको छ । सेनाले आफूखुशी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ ।

राजापाक्षेसँगै उनकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।  

उनीहरु चारै जनालाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थल माले लगिएको थियो ।

राजापाक्षेले देश छाडेको खवरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्‍ने उद्देश्यले श्रीलंकामा अहिले आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका हुन् ।

सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कर्फ्यु पनि लगाइएको छ ।

प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारमा जनाइएको छ ।

विक्रमासिङ्घेले दङ्गा मच्चाउनेलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलंकाको डेली मिरर पत्रिकाले जनाएको छ ।

तर श्रीलंकाको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दाबी गरेका छन् । प्रधानमन्त्रीले आपतकाल घोषणा गर्न नमिल्ने पनि उनको भनाइ छ ।

प्रधानमन्त्रीलाई राष्ट्रपतिले कार्यवाहक राष्ट्रपति नियुक्त गरेमा मात्रै दीर्घकालीन असर नपर्ने गरी कामचलाउ काम मात्रै गर्न पाउने उनको तर्क छ ।  

प्रधानमन्त्रीले पनि राष्ट्रपतिको अधिकार र जिम्मेवारी पाए झै काम गर्नु संविधानको दुरुपयोग भएको उनले दाबी गरे । रासस/एएनआई  


Author

थप समाचार
x