विश्व

श्रीलंका संकटबारे बोल्यो अमेरिका

इकागज |
असार ३०, २०७९ बिहीबार ९:११ बजे

कोलम्बो - श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले देशको संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न आग्रह गरेकी छन् । अमेरिकाले सबै हिंसाको निन्दा गर्ने र संकटमा कानुनी शासन कायम गर्न पनि उनले आह्वान गरेकी हुन् ।

‘हामी सबै हिंसाको निन्दा गर्छौं र कानुनको शासन कायम गर्न आह्वान गर्दछौं’ उनले एक ट्वीट सन्देशमा भनेकी छिन् । उनले श्रीलंकाको  लोकतान्त्रिक र संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण सत्ता हस्तान्तरणको आवश्यकता औँल्याएकी छिन् । 


जुली चुङले श्रीलंकामा आर्थिक र राजनीतिक स्थायित्व कायम गर्न दलहरूलाई मिलेर काम गर्न आग्रह पनि गरेकी छन् । ‘हामी सबै पक्षहरूलाई राष्ट्रको उन्नतिको लागि प्रतिबद्धताका साथ यस मोडमा पुग्न र दीर्घकालीन आर्थिक र राजनीतिक स्थिरता ल्याउने समाधानहरू कार्यान्वयन गर्न छिटो काम गर्न आग्रह गर्दछौं’ उनले ट्वीटमा भनेकी छिन् । 

यसैबीच, टापु देशको आर्थिक पतनका कारण सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर यात्राको प्रतिक्षामा छन् ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यवाहक राष्ट्रपति छन् । उनले देशमा संकटकालको घोषणा गरेका छन् र पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ । एजेन्सी


Author

थप समाचार
x