विश्व

ब्राजिलमा कोभिड-१९ भाइरसबाट एकै दिन चार हजारबढीको मृत्यु

इकागज |
चैत २५, २०७७ बुधवार १५:५८ बजे

ब्रासिलिया : ब्राजिलमा गत २४ घण्टामा कोभिड-१९ को संक्रमणको कारण ४ हजार भन्दा बढीको मृत्यु भएको  छ । ब्राजिलमा कोभिड भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरूले ज्यान गुमाएका यो पहिलो पटक हो । 

ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड-१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।


ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।

देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताए ।  

देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरू ज्यान गुमाउनु परेको विज्ञहरूको भनाइ छ । कोभिड भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ । 

राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिकमा उथलपुथलको भएको थियो । गत हप्ता  बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरू नियुक्ति भएका थिए ।  त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरूले राजिनामा गरेपछि नयाँ कमाण्डरहरू फेरिएका थिए । (रासस)
 


Author

थप समाचार
x