विश्व

किन हजारौं भारतीयले नागरिकता त्याग्दैछन् ?

इकागज |
साउन ९, २०७९ सोमबार १४:४९ बजे

नयाँ दिल्ली- भारतको गृह मन्त्रालयका अनुसार सन् २०२१ मा १ लाख ६३ हजार ३ सय ७० नागरिकले भारतको नागरिकता त्याग गरेका छन् । संसदमा पेश भएको प्रतिवेदनमा उनीहरुले ‘व्यक्तिगत कारण’ ले भारतको नागरिकता त्याग गरेकाे उल्लेख छ । 

सबैभन्दा धेरै ७८ हजार २ सय ८४ जनाले अमेरिकाको नागरिकताका लागि भारतको नागरिकता त्याग गरेका हुन् । त्यसैगरी, अष्ट्रेलियाको नागरिकता लिन २३ हजार ५ सय ३३ जना तथा क्यानाडाको नागरिकताका लागि २१ हजार ५ सय ९७ जनाले भारतको नागरिकता त्याग गरेका प्रतिवेदनमा उल्लेख छ । 


यता चीनमा बसोबास गरिरहेका ३ सय भारतीयले चीनको नागरिकता लिँदा ४१ जनाले पाकिस्तानको नागरिकता प्राप्त गरेका छन् ।

सन् २०२० मा भारतको नागरिकता त्याग्नेको संख्या ८५ हजार २ सय ५६ र सन् २०१९ मा १ लाख ४४ हजार १७ जना रहेका छन् । 

सन् २०१५ देखि २०२० सम्म ८ लाखभन्दा बढी भारतीयले नागरिकता त्याग गरेका थिए । सन् २०२० मा भने भारतीय नागरिकता त्याग गर्ने संख्या कम थियो । तर यसको पछाडि कोरोना महामारी प्रमुख कारणको रुपमा रहेको बताइन्छ । 

विदेश मामिला विज्ञ हर्ष पंतका अनुसार सन् २०२१ मा भारतीय नागरिकता त्याग्नेको संख्या बढ्नुमा गत वर्ष सो प्रकृया पूरा नहुनु रहेको हुन सक्ने बताउँछन् ।

भारतीयले किन नागरिकता त्याग गरिरहेका छन् ? 

विदेशमा बस्‍नुको कैयौं फाइदा :

अमेरिकामा बसोबास गर्ने एक महिलाले नाम उल्लेख नगर्ने शर्तमा अमेरिकामा राम्रो सुविधा, नयाँ मौकादेखि लिएर दोहोरो नागरिकता प्राप्त गर्न सक्नेसम्मकाे अवसर रहेको बताइन् । उनी सन् २००४ मा वैदेशिक रोजगारका लागि अमेरिका पुगेकी थिइन् । उनलाई त्यहाँ बस्‍न रमाइलो लाग्यो र उनले आफ्नी  छाेरीलाई त्यही नै जन्म दिइन् । त्यसपछि उनले त्यहाँको ग्रिन कार्डको लागि आवेदन दिइन् र उनले केही वर्षअघि अमेरिकाको नागरिकता पनि प्राप्त गरिन् । 

उनले अमेरिकाको जीवनशैली एकदमै सजिलो तथा स्ट्यान्डर्ड अफ लिभिङ धेरै राम्रो रहेकाे सुनाइन् । साथै बच्चाको पढाई राम्रो हुनुका साथै उनका लागि भारतभन्दा उत्कृष्ट अवसर प्राप्त भइरहेको छ । उनले बताए अनुसार काम अनुसारको कमाइ हुन्छ ।

कार्यस्थलको वातावरणः 

क्यानाडामा बसोबास गर्ने २५ वर्षीय अभिनव आनन्दले त्यही पढाई पूरा गरे र अहिले जागिर गरिरहेका छन् । उनले अहिले पनि भारतको पासपोर्ट प्रयोग गरिरहेका छन् । तरपनि उनी भारतको नागरिकता त्याग्‍न तयार छन् । उनका अनुसार क्यानाडामा काम गर्ने वातावरण राम्रो भएका कारण उनी भारत फर्किन चाहँदैनन् । आनन्दले बताए अनुसार क्यानाडामा समय अनुसार काम पाइने र  पैसा सोही हिसाबले प्राप्त हुन्छ । साथै त्यही हिसाबको कानुन पनि रहेकाे उनले बताए । 

भावनात्मक सम्बन्ध तर थोरै लाभ :

हरेन्द्र मिश्र वरिष्ठ पत्रकार हुन् । विगत २२ वर्षदेखि उनी इजरायलमा बस्दै आएका छन् । उनी भारतसँग भावनात्मक रूपमा जोडिएकाले यहाँको नागरिकता त्याग्‍न नसक्ने बताउँछन् । उनकी श्रीमती इजरायलकी हुन् र उनका छोराछोरी त्यहीँ जन्मिए र उनीहरुसँग त्यहाँको नागरिकता छ ।

तर भारतीय राहदानीका कारण धेरै समस्या भएको उनी बताउँछन् । धेरैजसो देशमा जान भिसा लिनुपर्छ । इजरायलको राहदानी भए बेलायत जान भिसा लिन नपर्ने भएपनि भारतीय राहदानी भएका कारण उनलाई भिसा लिनुपर्ने हुन्छ ।

भारतको राहदानीमा कुनै व्यक्ति ६० देश बिना भिसा जान पाउँछन् जुन अन्य मुलुकको तुलनामा कम हो । राहदानीको र्‍याङकिङमा भारत ८७ औँ स्थानमा रहेको छ ।

दोहोरो नागरिकताको आवश्यकता किन ? 

हरेन्द्र मिश्राका अनुसार भारतले दोहोरो नागरिकताको प्रावधान ल्याए त्यहाँको नागरिकता त्याग्‍ने मानिसको संख्यामा कमी आउनेछ । अभिनव आनन्दले पनि उनी अन्य देशको नागरिकता लिने प्रयासमा रहेपनि यो बाध्यता भएको बताउँछन् । आनन्दले भारतले दोहोरो नागरिकताको अनुमति नदिएका कारण उनीसँग भारतको नागरिकता त्याग्‍नुको विकल्प छैन ।

(बीबीसी हिन्दीका लागि शुभम किशोरले लेखेको आलेखको भावानुवाद इकागजका सञ्जीव शाहले गरेका हुन्)


Author

थप समाचार
x