एनी फ्रयांक जसले घृणाको जवाफ डायरीले दिइन्
काठमाडाैं । उपहार सबैलाई मन पर्छ । घरको दराज सामानै सामानले भरिएको किन नहोस्, कसैबाट उपहार पाउँदा मानिसलाई खुसी लाग्छ । त्यसमा पनि त्यस्तो उपहार अझ विशेष लाग्छ, जसको अपेक्षा गरिएको हुँदैन, जुन सरप्राइजका रुपमा पाइएको हुन्छ । अनपेक्षित रुपमा पाइने कुनै उपहारले मानिसलाई छाेटो समयका लागि खुसी बनाउँछ भन कुनैले लामो समयका लागि खुसी तुल्याउँछ । केही उपहारले त इतिहास नै रच्छ ।
आजभन्दा ८० वर्षअघि । एक ११ वर्षीया किशोरी व्यग्र पर्खाइमा थिइन्, १३ जुनको । त्यो दिन उनको जन्मदिन थियो । अन्ततः १३ जुन आयो । उनले जन्मदिनमा बुबाबाट उपहारस्वरुप एक ‘अटोग्राफ बुक’ पाइन् । पातलो रातो कपडाले बेरिएको उक्त डायरीमा ताल्चा लगाउन मिल्थ्यो । यसपालिको जन्मदिन उपहार उनलाई अझ विशेष लाग्यो । उनी बेलाबेला उपहारलाई हरेर टोलाउँथिन् । सोच्थिन्– सबैभन्दा पहिला अटोग्राफ भर्न कसलाई दिऊँ?
दोस्रो विश्वयुद्धका कारण जर्मनीको अवस्था दिनदिनै बिग्रिरहेको थियो । जर्मनीमा निर्मम शासन थियो, जातीय द्वन्द चर्किरहेको थियो । स्कुल जान पनि गाह्रो भइरहेको थियो । मानिसहरू देश छाडिरहेका थिए । किशोरीका धेरै नातेदारहरूले पहिल्यै मुलुक छाडिसकेका थिए ।
जान कुनै ठाउँ थिएन, भेट्न कुनै मानिस थिएनन्। अधिकांश समय घरभित्र हुलिएर बस्नुपर्ने अवस्था बनेको थियो । बिग्रँदै गइरहेको अवस्था देखेर किशोरी दुखी बनाउँदै लग्यो । चिन्तित मनले तर्कना गर्न थाल्यो– अब यो अटोग्राफको के हुन्छ ? कसले भर्छ ? यो कहिल्यै प्रयोगमा आउँदैन ?
केही दिनको तर्कनापछि उनको दिमागमा एउटा उपाय सुझ्यो– अटोग्राफलाई डायरी बनाउने र दैनिकी लेख्ने । डायरीको नाम पनि जुराइन्, किट्टी । उनले त्यसै दिनबाट दैनिकी लेख्न थालिन्।
पहिलो दिन उनले स्वयं डायरीलाई नै सन्देश लेखिन्, ‘मैले अहिलेसम्म कसैलाई विश्वास गरेको छैन, आफ्ना कुरा कसैलाई भनेको छैन । मैले तिमीलाई विश्वास गरेको छु। आशा छ, अब म आफ्ना सबै कुरा तिमीलाई भन्न सक्नेछु । म पूर्ण रुपमा विश्वस्त छु, तिमी मेरा लागि राहत र सहारा दुवै बन्नेछौँ ।’
दैन्दिन चर्किरहेको युद्धकै कारण उनको परिवार पनि जर्मनीबाट भागेर नेदरल्यान्डस्को शरणमा पुग्यो । तर, दुर्भाग्य नेदरल्यान्डस्लाई पनि जर्मनीले कब्जा गर्यो । उनीहरूलाई त्यहाँबाट भागेर जाने ठाउँ थिएन । परिवारले त्यहीँ एक कम्पनीको गोदाममा लुकेर बस्ने निर्णय गर्यो । बाहिर उनीहरूले देश छाडिसक्यो भनेर प्रचार गरियो । हरेक पल मृत्युको छायाले पछ्याइरहेको थियो, घृणा चुलिइरहेको थियो । यस्तो अवस्था सिर्जना भयो कि मानिसको सबैभन्दा ठूलो सत्रु मानिस नै थियो । चारै तिरबाट मृत्युले घेरेका ती दिनबारे उनले किट्टीमा लेख्दै गइन् ।
१९४०, मे महिनाको डायरीमा उनले जीवन त्यसपछि उस्तै नरहेको उल्लेख गरेकी थिइन् । नेदरल्यान्डस् जर्मनीको कब्जामा गएपछि यहूदी समुदायका लागि दिनहरू अत्यन्तै कष्टकर बन्न थाले । यहूदीविरोधी कानुन बन्यो । कानुनपछि उनीहरुलाई धेरै कुरामा बन्देज गरियो । उनीहरूले अनिवार्य रुपमा पहेँलो सीतारा छाप भएको लुगा लगाउनुपथ्र्यो । आफ्नै गाडी पनि उनीहरूले चड्न पाउँदैन्थे । साइकल चड्नुपथ्र्यो । सरसामान किन्न २ घण्टा दिइएको थियो– ३ बजेदेखि ५ बजेसम्म । उनीहरूले यहूदीकै सैलुन जानुपर्थ्यो । राति ८ बजेदेखि बिहान ६ बजेसम्म उनीहरूका लागि कर्फ्यु लाथ्यो । मनोरञ्जनका क्षेत्र पनि निषेधित थिए । खेलमैदान, डुंगा सयर गर्न दिइँदैन्थ्यो । कतिसम्म भने राति ८ बजेपछि सार्वजनिक पार्कहरूमा साथीहरूलाई भेट्नसमेत उनीहरुले पाउँदैन्थे । उनीहरूलाई विद्यालय जानमात्र छुट थियो । धेरै यहूदीलाई आत्मसमर्पण गर्न लगाएर निर्ममतासाथ हत्या गरिन्थ्यो । जीवनमाथि बन्देजैबन्देज थियो । तैपनि जिन्दगी चलिरहेको थियो ।
एक दिन उनीहरू बसिरहेको ठाउँमा जर्मन पुलिसले छापा हान्यो र सबैलाई गिरफ्तार गर्यो । निर्ममतापूर्वक किशोरीको हत्या गर्यो । डायरी त्यही छुट्यो ।
त्यसको केही समयमै हिटलरको निरंकुशीय शासनको पतन भयो । नेदरल्याण्ड्स आजाद भयो । परिवारमा उनका बाबुमात्र जीवितै फर्किए । उनले छोरी एनी फ्रयांको डायरी भेट्याए । आज त्यो डायरी विश्वभर लगभग सबै भाषामा प्रकाशित छ । डायरीनको नाम हो; द डायरी अफ ए यङ गर्ल । उक्त डायरीले मानिसहरूलाई भावविह्वल बनाउँछ । मनमा एउटा प्रश्न उब्जाउँछ– आखिरमा यो संसारमा यति धेरै घृणा कहाँबाट आयो ?
(लाइभ हिन्दूस्तानमा प्रकाशित आलेखलाई इकागजका लागि कमल विष्टले नेपालीमा भावानुवाद गरेका हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया