विश्व

मंकीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

इकागज |
साउन १७, २०७९ मंगलबार १९:१० बजे

फाइल तस्बिर

बेंकक- सरकारले मंकीपक्सविरुद्ध खोप लगाउने भएको छ । उच्च जोखिममा रहेका समूहलाई  खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

उक्त मन्त्रालयका अनुसार एक हजार मात्रा खोपको पहिलो खेप यही महिना र दोस्रो खेप दुई सातापछि थाइल्याण्ड आइपुग्‍ने अपेक्षा गरिएको छ । खोपको पहिलो खेप पाँच सय जनाका लागि उपलब्ध हुने तर कुन समूहलाई प्राथमिकतामा राख्‍ने भन्‍ने निर्णय भइसकेको छैन । 


देशमा हालसम्म मंकीपक्सका दुईजना बिरामी  फेला परेका छन् । फुकेट टापुमा परीक्षण गर्दा पहिलो पटक एकजना नाइजेरियाली नागरिक र यहाँ एक थाई नागरिकलाई दोस्रो बिरामीका रूपमा पहिचान गरिएको हो ।

स्वास्थ्य अधिकारीहरूले रोग पुष्टि भएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको र सङ्क्रमण नफैलिएको जनाउँदै उनीहरूले अहिलेसम्म दक्षिणपूर्वी एसियाली देशमा आधिकारिक रूपमा मंकीपक्स सङ्क्रमण नभेटिएको बताएका छन् ।

भारतमा मंकीपक्सका छैटौँ बिरामी

राष्ट्रिय राजधानीमा फेला परेका छन् । दिल्लीको स्वास्थ्य विभागका अधिकारीका अनुसार विदेश यात्रा नगरेका नाइजेरियाली नागरिक उक्त रोगबाट सङ्क्रमिता भएका बताइएको छ । करिब एक वर्षदेखि दिल्लीमा बस्दै आएका बिरामीलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । यसअघि चारजना बिरामी दक्षिणी राज्य केरला र एकजना नयाँदिल्लीमा फेला परेका थिए । भारतमा उक्त रोग लागेर एकजनाको मृत्यु भइसकेको छ । 

न्यूजिल्याण्डमा तेस्रो बिरामी

न्यूजिल्याण्डमा पनि मंकीपक्सका एकजना बिरामी थपिएका छन् । यो सँगै त्यहाँ मंकीपक्सका बिरामीको सङ्ख्या तीन पुगेको छ । जनस्वास्थ्य अधिकारीहरूले पछिल्लो बिरामीबाट रोग सर्ने जोखिम कम रहेको बताएका छन् । 

गत महिना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आधिकारिकरूपमा मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । ​सिह्वा


Author

थप समाचार
x