विश्व

‘ताइवान कार्ड’ नखेल्न अमेरिकालाई चीनको चेतावनी

इकागज |
साउन १८, २०७९ बुधबार ६:४७ बजे

काठमाडौं - अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी ताइवानको भ्रमणमा आएपछि चीन आक्रोशित भएको छ । चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणको कडा निन्दा गरेको छ । चिनयाँ सञ्चार माध्यमका अनुसार चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमण ‘एक–चीन नीति’को गम्भीर उल्लङ्घन भएको भन्दै निन्दा गरेको हो ।

यसले चीन–अमेरिका सम्बन्धको राजनीतिक आधारमा 'अत्यन्त खराब असर' पार्ने विदेश मन्त्रालयले बताएको छ । ​पेलोसीको भ्रमणले ‘चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको गम्भीर उल्लङ्घन गरेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 


चीनले अमेरिकालाई ‘ताइवान कार्ड’ खेल्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न तथा थप गलत र खतरनाक बाटोमा नजान जोडदार आग्रह गरेको छ ।

पेलोसीको भ्रमणको विरोधमा चीनले अमेरिकी राजदूतलाई बोलाएको छ । चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार अमेरिकी राजदूत निकोलस बन्र्ससँगको कुराकानीको क्रममा उप–विदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणकोे कडा विरोध गरेका थिए । 

‘यो कदम प्रकृतिमा अत्यन्तै डरलाग्दो छ र परिणामहरू अत्यन्त गम्भीर छन्’ उनले भनेका छन् । अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफै तिर्ने’ र वासिंगटनलाई  तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न’ उनले चेतावनी दिएको सिन्ह्वाले रिपोर्ट गरेको छ । 

यता ताइवान पुगेकी सभामुख न्यान्सी पेलोसीले विश्वले अहिले निरङ्कुशतन्त्र र लोकतन्त्रबीच छनोटको सामना गरिरहेको बताएकी छन् । उनले ताइवानका दुई करोड ३० लाख नागरिकसँग अमेरिकाको ऐक्यवद्धता रहेको पनि बताएकी छन् ।

ताइवान भ्रमणले इन्डो प्यासिफिक क्षेत्रको सम्बन्ध थप बलियो हुने बताएकी छन् । उनी २४ लडाकु विमानसहित मंगलबार साँझ ताइवान पुगेकी हुन् ।


Author

थप समाचार
x