विश्व

अमेरिकामा जनस्वास्थ्य संकटकालकाे घोषणा

इकागज |
साउन २०, २०७९ शुक्रबार १५:३ बजे

लस एन्जेलस- ​मंकीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य संकटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो ।

उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मंकीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो ।


विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको हो ।

अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो । सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखा परेको मंकीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो ।

विश्वका कैयौँ देशमा मंकीपक्सको सङ्क्रमण देखिएको छ । विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ । अहिले पनि विश्वका कतिपय देशहरुमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन् ।

अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमितहरु पाइएका बताइएको छ । सिन्ह्वा


Author

थप समाचार
x