विश्व

न्युजिल्याण्डमा सुटकेसभित्र दुई बालबालिकाको शव फेला

इकागज |
भदौ २, २०७९ बिहीबार १४:३० बजे

अकल्याण्ड - साउथ अकल्याण्डको एक भण्डारण एकाइमा सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताए । न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक संकेतका आधारमा टोलीले ती मृत बालबालिका फेला पर्नुअघि कैयौँ वर्षदेखि सुटकेसभित्र रहेको हुनसक्ने अनुमान गरेको थियो ।  


वाएलुआले यो खबरले समुदायलाई निकै दुःखी तुल्याउने आफूले बुझेको बताए । प्रहरी अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमा रहेको उनले बताए । `तर ती बच्चाहरूको अवशेष धेरै वर्षदेखि सुटकेसमा रहेको हुनसक्ने देखिन्छ,` उनले भने । 

“प्रहरीले भण्डारण एकाइको भाडाको सन्दर्भमा ‘अनुसन्धानको सकारात्मक संकेतहरू’ पछ्याइरहेको छ,” वाएलुआले भने । ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरुको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले काम गरिरहेको प्रहरीको गुप्तचर निकायले जनाएको छ । 

`म के भन्न सक्छु भने हामीले डिएनए जाँचमा घटनासँग सम्बन्धित निकै राम्रा संकेतहरू प्राप्त गरिरहेका छौं,` उनले भने । घटनाको बारेमा थप जानकारी दिँदै वायलुआले भने , “उनीहरूले क्यानभासिङ र सीसीटीभी संकलन गरिरहेका छन् । यद्यपि, घटना निकै पूरानो हुनसक्ने भएकाले यसलाई चुनौतीपूर्ण बनाइरहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।” 

`हामी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र यी साना केटाकेटीलाई के भयो भनेर पत्ता लगाउन सक्दो प्रयास गरिरहेका छौं । यो कुनै सजिलो अनुसन्धान होइन ।` 

उनले सञ्चारमाध्यमसँग धेरै प्रश्नको जवाफ दिन अस्वीकार गर्दै अनुसन्धानमा अन्यथा सम्झौता हुन सक्ने बताएका छन् । मृतकका आफन्तहरु न्युजिल्याण्डमा रहेको उनले बताए । 


Author

थप समाचार
x