विश्व

घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा

इकागज |
भदौ ७, २०७९ मंगलबार १७:१४ बजे

काठमाडौं – घरमा छापा मारिएपछि​ अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सरकारविरुद्ध मुद्दा हालेका छन् । उनले केही साताअघि सङ्घीय जाँच ब्यूरो एफबीआईले उनको निवासबाट कब्जा गरेर लगेका फाइलहरूको न्याय मन्त्रालयद्वारा जारी अनुसन्धान रोक्न न्यायाधीशसमक्ष अनुरोध गरेका छन् ।

मुद्दामा ट्रम्पको टोलीले उक्त दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गर्नुपर्ने बताएका छन् । एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको ‘मारा लागो’ निवासमा छापा मारेर ११ सेट गोप्य फाइलहरू लगेको बताइएको थियो ।


हाल उनीमाथि संवेदनशील दस्तावेजहरूको गलत व्यवस्थापन गरेको आरोपमा अनुसन्धान भइरहेको छ । सोमबार उनका वकिलहरूले तटस्थ वकिलको माग गरेका छन् । जसलाई ‘स्पेशल मास्टर’ पनि भनिन्छ ।

ट्रम्प राष्ट्रपति भएका बेला कब्जा गरेर लगिएका दस्तावेजहरू उनलाई प्राप्त कार्यकारी विशेषाधिकार बमोजिम थिए कि थिएनन् भनेर ‘स्पेशल मास्टर’ हरुले हेर्ने बताइएको छ ।

राष्ट्रपतिहरूलाई उक्त विशेष अधिकारले  उनीहरूले गरेका कतिपय सञ्चार गोप्य राख्न अनुमति दिने बताइएको छ ।


Author

थप समाचार
x