विश्व

बाढी पहिरोबाट नौ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा

इकागज |
भदौ १०, २०७९ शुक्रबार २१:५१ बजे

फाइल तस्बिर

इस्लामावाद- पाकिस्तानमा सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको छ । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो । 

सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी नौ सय ३७ जनाको मृत्यु भएको छ । 


ती मध्ये तीन सय ४३ जना बालबालिका रहेका छन् । त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् । 

मृत्यु भएका मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा मृत्यु भएको छ । त्यहाँ ३०६ जनाको मृत्यु भएको पाकिस्तानी गृह मन्त्रालयले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन् ।

त्यसैगरी बालुचिस्तानमा दुई सय ३४, खैबर पख्तुन्ख्वामा एक सय ८५ जना र पन्जावमा १६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पाकिस्तानमा अहिले अस्वभाविक रुपमा वर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरुले जनाएका छन् । 

प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा अरु एक सय १३ जना घाइते भएका छन् । त्यसैगरी हजारौँ मानिस घरबारविहीन भएका र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ । 

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् । 

बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरुले बताएका छन् । एएनआई


Author

थप समाचार
x