विश्व

पाकिस्तानको आश्रय शिविरहरूमा ४७ हजारभन्दा बढी गर्भवती महिलाहरू

इकागज |
भदौ १९, २०७९ आइतबार १८:४६ बजे

सांकेतिक तस्बिर

इस्लामाबाद- पाकिस्तानमा बाढीबाट प्रभावित ४७ हजारभन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन् । स्थानीय सञ्चार माध्यमले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै आइतबार सोबारे तथ्याङ्क सार्वजनिक गरेका छन् ।

सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन् । उनले बाढीपहिरोपछि लाखौं मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन् । सो प्रान्तमा १३४,००० भन्दा बढी झाडापखाला र ४४,००० मलेरियाका घटनाहरू रिपोर्ट गरिएको छ ।


गत अगस्ट ३० मा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६५०,००० गर्भवती महिलाहरू रहेको र जसमध्ये ७३,००० जना यस महिनामा सुत्केरी हुन लागेको उल्लेख गरेकाे छ । बाढीपीडितहरूमध्ये हालसम्म एक लाखभन्दा बढी चर्मरोगबाट पीडित छन् भने १०० भन्दा बढी सर्पदंश र ५०० भन्दा बढी कुकुरको टोकाइबाट पीडित भएको डन अखबारले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघ एजेन्सीले महिला र केटीहरू लैङ्गिक-आधारित हिंसाको बढ्दो जोखिममा रहन सक्ने चेतावनी जारी गरेको छ । किनकी बाढीबाट करिब १० लाख घरहरू क्षतिग्रस्त भएका छन् र विस्थापित परिवार सुरक्षित आश्रयस्थलको खोजीमा छन् ।

पाकिस्तानले यस वर्ष अभूतपूर्व बाढीको सामना गरेको छ । जसले देशका करिब  तीन करोड तीस लाख मानिसहरूलाई असर गरेको छ भने दशौं हजार मानिसहरूलाई विस्थापित गरेको छ।

स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको प्रतिवेदनअनुसार विगत दुई महिनामा सिन्धबाट १ लाख ३४ हजारभन्दा बढी झाडापखालाका घटनाहरू रिपोर्ट गरिएका छन् ।

त्यस्तै यस वर्षको जुनदेखि हालसम्म ४४ हजार ८३२ औलोका बिरामी फेला परेको तथ्याङ्कले देखाएको छ । एएनआई


Author

थप समाचार
x