महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा चार्ल्स तृतीय बने
काठमाडौँ- बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा ७० वर्ष लामो समयसम्म गद्दीमा रहेकी महारानी द्वितीयको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो ।
'आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ' विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ 'राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।'
चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछि उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए ।
महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए ।
महारानी द्वितीयबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले 'महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको' बताएकी छन्
उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन् ।
'हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ' राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भने 'मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया