विश्व

बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

इकागज |
भदौ २४, २०७९ शुक्रबार २१:५७ बजे

नयाँ दिल्ली- बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । 

भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रबार गरेको अधिकारीहरूले जनाएका छन् ।


'उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ,' भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।  

शोक मनाउने दिन भारतभर र विदेशस्थित भारतीय कार्यालयहरूमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ । 

भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने उनको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गरेका थिए । 

प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी नेतृत्वको रूपमा स्मरण गरेका छन् । उनले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ । 

सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उनले गरेका छन् । 'उहाँको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिनँ,' प्रधानमन्त्री मोदीले लेखेका छन् ।   

उनको निधनप्रति विश्वका अन्य देशका नेताहरूले पनि शोक व्यक्त गरेको छ भने अन्य देशहरूले पनि शोक मनाउने निर्णय गरेका छन् । 

बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको गत बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतको रानीको रूपमा ७० वर्षभन्दा बढी समय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनसँगै उहाँका छोरा चार्ज तृतीय बेलायतको राजा बनेका छन् । एएनआई


Author

थप समाचार
x