विश्व

युक्रेनमा लड्न नागरिकलाई आंशिक परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन

इकागज |
असोज ६, २०७९ बिहीबार ७:३९ बजे

मस्को - युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको छ । 

राष्ट्रका नाममा पुटिनको बुधबार बिहानको सम्बोधनपछि देशभरका ३८ विभिन्न शहरमा प्रदर्शनमा उत्रिएकामध्ये कम्तीमा १३३२ जनालाई हिरासतमा लिएको ओभीडी सूचना अनुगमन समूहले जनाएको छ ।


बुधबारको प्रदर्शन फेब्रुवरीमा युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपको घोषणापछिकै सबैभन्दा ठूलो प्रदर्शन हो । प्रहरीले राजधानी मस्कोको मुख्य किनमेल सडकबाट ५० जनालाई नियन्त्रणमा लिएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रदर्शनकारीहरुले ‘परिचालन होइन’ भन्दै नारा लगाएका थिए । यसैबीच, बुधबार टेलिभिजन सम्बोधनमा पुटिनले मस्कोले युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले  रुसले सुरुमा करिब ३ लाख जना परिचालन गर्ने बताएका छन् ।

आंशिक सैन्य परिचालनको अमेरिकालगायत पश्चिमा देशले विरोध गरेका छन् ।


Author

थप समाचार
x