विश्व

मुलायम सिंहको अन्त्येष्टिमा शीर्ष नेता सहभागी

इकागज |
असोज २५, २०७९ मंगलबार २१:५१ बजे

काठमाडौँ- भारतका वरिष्ठ नेता मुलायम सिंह यादवको अन्त्येष्टिमा शीर्ष नेताहरू सहभागी भएका छन् ।  भारतको समाजवादी पार्टीका संस्थापक तथा सर्वोच्च नेता समेत रहेका यादवको सोमबार बिहान ८२ वर्षको उमेरमा निधन भएको थियो ।

उनको अन्त्येष्टिमा केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह, विहारका उप मुख्यमन्त्री तेजश्वी यादव लगायतका दर्जनौँ नेताहरू, उच्च पदस्थ अधिकारीहरू सहभागी भएका थिए ।


गुरुग्रामको अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई गत आइतबार एक्कासि स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उनलाई उपचार गरिएको थियो । 

उनकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । समाजवादी पार्टीको स्थापना स्वर्गीय यादवले नै सन् १९९२ अक्टोबर ४ मा गरेका थिए । त्यसको नेतृत्व अहिले उनकै छोरा अखिलेश यादवले गरेका छन्। 

भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उनी तीन पटक मुख्यमन्त्री बने भने एक पटक केन्द्रीय मन्त्री समेत भएका थिए । 

आम निर्वाचनबाट उनी १० पटक निर्वाचित भएका थिए । ती मध्ये सात पटक लोक सभा सदस्य बनेका थिए । उनी पहिलो पटक सन् १९६७ मा २८ वर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

 उनले राजनीति धेरै पटक चुनौतीपूर्ण निर्णयहरू लिएका थिए भने बेला बेलामा विवादमा पनि पर्ने गरेका थिए । उनको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो । 


Author

थप समाचार
x