यूरोपमा आप्रबासी, शरणार्थीको चाप पुनः बढ्दो
फाइल तस्बिर
वार्सा - सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली सङ्घमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको सङ्ख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको इयूको सीमा निकायले बिहीबार जनाएको छ । इयूको सीमा निकाय (फ्रन्टेक्स) का अनुसार कुल दुई लाख २८ हजार २४० व्यक्ति प्रवेश गरेको भेटिएको छ ।
यसमध्ये बाल्कन क्षेत्रबाट एक लाख छ हजार ३९६ जना प्रवेश गरेका थिए । यो सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा १७० प्रतिशतले बढी हो । फ्रन्टेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पश्चिमी बाल्कनमा पहिलेदेखि नै रहेका आप्रवासीहरूले पटक–पटक सीमा पार गर्ने प्रयास गरेका कारण अवैध सीमा पार गर्नेको सङ्ख्या बढेको हो ।
प्रवेश गर्नेको दोस्रो ठूलो सङ्ख्या मध्य भूमध्यसागरीय मार्ग हुँदै आउनेको रहेको छ । यस नाकाबाट ५६ हजार ६७२ व्यक्ति प्रवेश गरेका थिए । यो सङ्ख्या गत वर्षको पहिलो नौ महिनाको तुलनामा ४२ प्रतिशत बढी हो ।
बाल्कन क्षेत्र हुँदै युरोपेली सङ्घमा प्रवेश गर्न खोज्ने आप्रवासीमध्ये मुख्यतया सिरियाली, अफगानी र टर्कीका नागरिकहरू थिए ।
मध्य भूमध्यसागर हुँदै प्रवेश गर्नेमा अधिकांश ट्युनिसियाली, इजिप्टियाली र बङ्गलादेशी थिए ।
एजेन्सीका अनुसार सन् २०२२ मा सामुद्रिक मार्गमा भेटिएका आप्रवासीको सङ्ख्या ५२ हजार ७०० रहेको छ । यो सङ्ख्या सन् २०२१ मा झण्डै ५२ हजार मात्र थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया