संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव : राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिलगायतका संकटका कारण यहाँका शरणार्थीहरूको अवस्था निकै संकटपूर्ण रहेको जनाइएको छ ।
चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरूलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले जनाएका छन् । उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरू बढ्ने क्रम जारी रहेको छ ।
संयुक्त राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् । उनले चाडमा सन् २०२० का तुलनामा यस वर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताएका छन् ।
संयुक्त राष्ट्रसंघले हालै मात्र सरकारहरूले राखेका तथ्यांकमा भन्दा पनि बढी शरणार्थीहरू अफ्रिकी देशहरूमा रहेका र उनीहरूका समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको एक दिनपछि आज प्रवक्ता डुजारिकको सो प्रतिक्रिया आएको हो ।
राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता डुजारिकले यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका भए पनि संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले आवश्यकताको १० प्रतिशत मात्र सहयोगको तयारी गरेको बताएका हुन् ।
उता हाल देखा परिरहेका शरणार्थीहरूमा पनि आगामी दिनमा उक्त सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले अफ्रिकी देशहरुमा शरणार्थीहरूको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था थप अज्ञात तथा नाजुक बन्दै गएको बताएका थिए ।
सोमालियमा मात्र यस वर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसंघसँग रहेको छ । सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरूको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको छ ।
पछिल्ला केही वर्ष यतादेखि चाड बाढी र पहिरोबाट बढी मात्रामा पीडित भएको छ । केही वर्षयताको बाढीबाट चाड प्रभावित भएको र यहाँका नागरिक लाखौँको सङ्ख्यामा विस्थापित भएका छन् । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया