हलोविनमा भागदौड मच्चिदा एक सय ५४ जनाको मृत्यु
सोल- भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिबार राति यहाँ भागदौड मच्चिदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ भने एक सय ४९ जना घाइते भएका छन् । घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।
गृह मन्त्रालयका अनुसार उक्त घटनामा २६ जना विदेशीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कोरियाली सरकारले शनिबारसम्म साताव्यापी राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रपति युन सुक येओले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
यसैबीच, कोरियाली प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको छ । प्रहरीको एक सय ६१ सदस्यीय कार्यदल बनाएर अनुसन्धान थालिएको गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । विशेषज्ञसहितको प्रहरी टोलीले भागदौड मच्चिएको स्थानमा जडित क्यामराले खिचेका दृश्य र सामाजिक सञ्जलामा सम्प्रेषण गरिएका भिडियोलाई विश्लेषण गरेर घटनाको छानबिन प्रारम्भ गरेको हो ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्थासहितको प्रणाली विकास गरिने प्रधानमन्त्री हान डकसुकले बताएका छन् । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया