विश्व

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

इकागज |
कात्तिक २०, २०७९ आइतबार १४:४६ बजे

बेरुत- विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समय यता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो ।

हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको भन्दै आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाइका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहायता चाहिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।


विश्व स्वास्थ्य सङ्गठनका लेबनान प्रमुख अब्दिनाकिर अबुदकरले लेबनान आर्थिक समस्यामा परेको अहिलेको अवस्थामा यहाँ हैजा फैलिइरहेको देखिएकाले यसको नियन्त्रणका लागि सहयोगको याचना गरिएको बताए ।

लेबनानमा केही महिना यता फैलिएको हैजाबाट दुई हजार पाँच सयभन्दा बढी प्रभावित भएका छन् । अहिले पनि यहाँ चार सय १६ जना हैजाका बिरामी रहेका छन् । लेबनानका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार हाल यहाँ १८ जनाको हैजाबाट ज्यान गएको छ । गत अक्टोबरको पहिलो हप्ता यहाँ हैजा देखिएको थियो र अहिले पनि यसको प्रकोप बढ्दो छ ।

समयमै हैजाको नियन्त्रण नगर्दा यहाँ यसले महामारीको रूप लिने त्रास भएकाले विश्व स्वास्थ्य सङ्गठनले तत्कालै नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न लेबनान सरकार र सबैसँग अपिल गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा देखिएको इबोला र लेबनानको हैजा नियन्त्रणका लागि सबैसँग अपिल गरेको छ । केही अफ्रिकी देशमा पछिल्ला केही महिना यता इबोलाको प्रकोप बढेको छ । सिन्ह्वा


Author

थप समाचार
x