इजिप्टमा मिनीबस दुर्घटना हुँदा १९ जनाको मृत्यु
कायरो- उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मिनिबस डाकाहलिया प्रान्तको नहरमा खसेको मन्त्रालयले जनाएको छ ।
घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र झ्यालहरू पनि फुटेका र कुच्चिएका छन् ।
इजिप्टका सञ्चार माध्यमले स्टेरिङ ह्वीलमा खराबी आएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।
कमजोर सडक सञ्जाल, प्रायः पुराना र मर्मत सम्भार नगरिएका सवारी साधन ड्राइभिङ नियमहरूको उल्लङ्घनका कारण हुने सवारी दुर्घटनालाई इजिप्टमा सामान्य मानिन्छ ।
सन् २०२१ मा अरब विश्वको सबैभन्दा बढी घना जनसङ्ख्या भएको यो देशको सडकमा करिब सात हजार मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
गत जुलाईमा मध्य इजिप्टमा एउटा बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्किँदा २५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए । एएफपी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया