विश्व

कोभिडका कारण मोदीद्वारा पश्‍चिम बंगाल जाने कार्यक्रम रद्द

इकागज |
बैशाख ९, २०७८ बिहीबार २१:९ बजे

नयाँ दिल्ली  : कोभिड-१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्‍यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् । प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट‍्वीट गर्दै आफूले पश्‍चिम बंगाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन् । 

यस्तै मोदीले शुक्रबार कोभिड-१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने पनि ट‍वीटमार्फत जानकारी दिएका छन् । उनी चुनावी प्रचारका लागि पश्‍चिम बंगाल जाने कार्यक्रम रहेको थियो ।
यसअघि निर्वाचन प्रचारका लागि पश्‍चिम बंगाल जाने कार्यक्रम विपक्षी नेता राहुल गान्धीले पनि रद्द गरेका थिए । 


कार्यक्रम रद्द गरेपछि निर्वाचन प्रचारप्रसारका लागि अन्य दलहरूलाई पनि सोच्‍न गान्धीले आग्रह गरेका छन् । त्यसको लगत्तै सामान्य विरामी परेका राहुलको कोभिड-१९ परीक्षण गर्दा उनलाई सङ्क्रमण पुष्टि भएको थियो ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको  संक्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित थपिएका छन् भने दुई हजार १००भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । (रासस)
 


Author

थप समाचार
x