श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने
कोलम्बो- श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने जनाएको छ ।
श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले विदेशी लगानी आकर्षित गर्न श्रीलङ्काका पश्चिमी र उत्तर पश्चिमी प्रान्तका साथै हम्बनटोटा र त्रिन्कोमाली जिल्लामा नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने सोमबार बताएका हुन् ।
राष्ट्रपति विक्रमासिङ्घेले सन् २०२३ को बजेट संसद्मा प्रस्तुत गर्ने क्रममा प्रत्येक क्षेत्रका लागि कम्तीमा एक हजार ‘एकड’ जमिन छुट्याइने बताएका छन् ।
उनले लगानी र बाह्य व्यापार प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना गर्न नयाँ एजेन्सी स्थापना गरिने बताए ।
आगामी १० वर्षमा वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र््याउने श्रीलङ्काको योजना रहेको उनले बताए ।
राष्ट्रपति विक्रमासिङ्घेले सरकारी राजस्व वृद्धि का लागि सार्वजनिक सेवा र करसम्बन्धी मूल्याङ्कन र सिफारिस गर्न राष्ट्रपति आयोग गठन गरिने बताए । उनले परिमाणात्मक र गुणात्मक तथ्याङ्कका आधारमा उत्पादकत्वका विषयमा अनुसन्धान र अध्ययन गर्न राष्ट्रिय उत्पादकत्व आयोग गठन गर्न पनि प्रस्ताव गरे ।
आयोगले व्यापार समायोजन कार्यक्रमका सम्बन्धमा सुझाव दिने र उद्योग, वाणिज्य र व्यापारसम्बन्धी लघु आर्थिक नीतिका सम्बन्धमा सरकारलाई सुझाव दिनेछ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रस्ताव गरेको सुधार आर्थिक स्थायित्वमा केन्द्रित भएकाले सरकारको आर्थिक सुधार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग भएको सम्झौतामा मात्र सीमित नहुने उनले बताए ।
सरकारले सुधार र आधुनिकीकरणमार्फत सात देखि आठ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अपेक्षा गरेको विक्रमासिङ्घेले बताउनुभयो । उहाँले आर्थिक रुपान्तरणका लागि आवश्यक विधायिकी संशोधन र नयाँ विधेयक छिट्टै संसद्मा पेश गरिने जानकारी दिए । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया