विश्व

सोमालियामा छ सयभन्दा बढीको हत्या

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १४:४१ बजे

मोगादिसु- ​सोमालियामा यसै वर्षको जनवरीदेखि यता मात्र छ सय जनाभन्दा बढीको हत्या भएको एक राष्ट्र सङ्घीय अधिकारीले जनाएका छन् । उनका अनुसार यहाँ गएको १० महिनामा मात्र छ सय १३ जना सर्वसाधारणको हत्या भएको छ ।

संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले सो कुराको जानकारी दिएका हुन् । उनले यस वर्ष यहाँ सर्वसाधारणको हत्या झनै बढेको छ । यहाँका नागरिकको मानव अधिकारको हनन भएको र उनीहरूको हत्याको अवस्था झन् बढेको भन्दै उच्चायुक्त टर्कले यो निकै नै दुःखद अवस्था भएको पनि जानकारी दिए ।


सोमबार प्रकाशन गरिएको विज्ञप्तिमा उनले अझै कति सोमालियाली सर्वसाधारण नागरिकको ज्यान जाने हो भन्ने निश्चित नरहेको र यो अवस्था भनेको निकै नै दुःखद अवस्था हो भन्दै यहाँको हिंसाको अन्त्यको बाटो खोज्न पनि सुझाएका छन् ।

सोमालियाका अल सेबाब हिंसात्मक विद्रोहीहरूले पछिल्लो समयमा नागरिक हत्याको शृंखलालाई झन् बढाएको देखिएको पनि उनले बताएका छन् । यहाँका विद्रोहीहरूले विस्फोटक पदार्थको प्रयोग गरेर नागरिकको हत्या गर्ने गरेका उनले बताए । उनले अल सेबाब विद्रोहीहरूले करिब ९४ प्रतिशत हत्या यस्ता विस्फोटक पदार्थको प्रयोगबाट गर्ने गरेका र त्यसपछि उनीहरूले आत्मघाती हमला पनि गर्ने गरेका पाइएको उनले जानकारी दिए । सिन्ह्वा


Author

थप समाचार
x