विश्व

भारतमा एकै दिन तीन लाख २३ हजार बढीलाई कोभिड-१९

इकागज |
बैशाख १४, २०७८ मंगलबार १३:२५ बजे

सांकेतिक तस्बिर

नयाँदिल्‍ली : भारतमा गत २४ घण्टामा तीन लाख २३ हजारभन्दा बढी नागरिक कोभिड-१९ सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोभिड सङ्क्रमित भेटिएका यो छठौँ दिन भएको बताइएको छ । कोभिड महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ 

यसैगरी यहाँ गएको २४ घण्टायता दुई हजार ७७१ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ । यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७६ लाख ३६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित हुनपुगेका बताइएको छ ।   


भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजार भन्दा बढी कोभिड मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिडविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५० लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । 

कोभिडको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोभिडविरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।   

भारतमा  सोमबार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोभिड परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २६ सम्म कूल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोभिड परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।  
 
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोभिड प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ सोमबार एकैदिनमा २० हजार २०१ जना थप व्यक्ति कोभिड सङ्क्रमण देखिएको र ३८० जनाको मृत्यु भएको छ ।  दिल्ली कोभिड शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण १४ हजार ६२८ व्यक्तिको मृत्यु भएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x