विश्व

अमेरिकी क्यापिटलमा आक्रमण प्रकरण

ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन संसदीय समितिको सिफारिस

उम्मेदवार हुनबाट रोक्ने प्रयासस्वरुप नक्कली आरोप लगाइयोः ट्रम्प

इकागज |
पुस ५, २०७९ मंगलबार ९:१२ बजे

न्युयोर्क - गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । विद्रोहलाई उक्साउने, आधिकारिक कार्यबाहीमा अवरोध पुर्‍याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको हो । 

‘समितिले महत्त्वपूर्ण प्रमाणहरू जुटाएको छ कि राष्ट्रपति ट्रम्पले हाम्रो संविधानअन्तर्गत शक्तिको शान्तिपूर्ण संक्रमणमा बाधा पुर्‍याउने उद्देश्य राखेका थिए’ प्रतिनिधि जेमी रस्किनले प्यानलको निष्कर्षलाई उल्लेख गर्दै भने ‘हामी विश्वास गर्छौं कि आज मेरा सहकर्मीहरूले वर्णन गरेका र हाम्रो सुनुवाइमा जुटाएका प्रमाणहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक सन्दर्भको उचित आधार दिन्छ ।’


यता अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबार सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’  लगाएको दाबी गरेका छन् । ‘जनवरी ६ को अत्यधिक पक्षपातपूर्ण छनोट अयोग्य समितिले लगाएको नक्कली आरोपहरू पहिले नै पेस गरिसकिएको छ, अभियोग लगाइएको छ र छद्म महाभियोग २ को रूपमा प्रयास गरिएको छ’, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्टमा भनेका छन्, ‘मैले पक्का जितें । ‘मलाई अभियोग लगाउने यो सम्पूर्ण क्रियाकलाप महाभियोग जस्तै हो । मलाई र रिपब्लिकन पार्टीलाई किनारा गर्ने पक्षपातपूर्ण प्रयास हो’, उनले भनेका छन् । एजेन्सी
 
 


Author

थप समाचार
x