इन्धन अभावले यमनी अस्पताल बन्द
फाइल फोटो
यमन - यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालमा इन्धनको चरम अभावका कारण आइतबारदेखि बन्द भएको छ ।
अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नु परेको सिन्ह्वालाई बताए । उनले नाम गोप्य राख्ने शर्तमा भने, “मृगौला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त केन्द्र पनि समावेश रहेको अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू ईन्धनको गम्भीर संकटपछि बन्द गरिएको छ ।”
'ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालले घना बस्ती भएको ताइज सहरमा हजारौं बिरामीका लागि सेवा प्रदान गर्दछ,' उनले भने । अस्पताल बन्दले बिरामीको ज्यान जोखिममा पारेको उनले बताए ।
अस्पतालका अधिकारीका अनुसार अस्पतालले अन्तर्राष्ट्रिय संस्था र संयुक्त राष्ट्रसंघका निकायलाई संकटबाट पार पाउन र स्वास्थ्य विपत्तिबाट बचाउन इन्धन उपलब्ध गराउन तत्काल अपिल गरेको छ ।
सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकूसमूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको छ ।
यस युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छ भने ४० लाख मानिस विस्थापित भएका छन् । युद्धले देशलाई भोकमरीको सङ्घारमा पुर्याएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया