विश्व

क्यानडाद्वारा राजापाक्ष दाजुभाइमाथि प्रतिबन्ध घोषणा

इकागज |
पुस २७, २०७९ बुधबार १४:३४ बजे

फाइल फोटो

कोलम्बो - श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । 

सन् २००९ मा महिन्दा राजापाक्ष टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार द्वन्द्वकालमा सेनाले अन्धाधुन्ध बमबारीलगायत कारबाही गर्दा ४० हजार तमिल अल्पसङ्ख्यक मारिएका थिए । 


पश्चिमा देशले श्रीलंकन सैनिक नेतृत्वमाथि यात्रा प्रतिबन्ध लगाएको भए पनि शक्तिशाली राजपाक्ष परिवारका सदस्यमाथि कुनै किसिमको यात्रा निषेध जारी गरेको थिएन । राजपाक्ष परिवारमाथि प्रतिबन्ध लगाउने क्यानडा पहिलो मुलुक बनेको छ । 

'अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्नेहरूविरुद्ध अन्तर्राष्ट्रिय दण्डहीनता अन्त्य गर्न क्यानडाले आज निर्णायक कदम चालेको छ,' विदेशमन्त्री मेलानी जोलीले मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । 

दुवै दाजुभाइले आफूहरू पदमा रहँदा दशकौँ लामो गृहयुद्धका क्रममा भएका युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाबको प्रतिरोध गरेका थिए । सन् २०१९ मा गोटाबाया राष्ट्रपति भएका थिए । देशमा व्याप्त चरम आर्थिक संकटबाट क्रुद्ध भएका नागरिकको निरन्तरको विरोध प्रदर्शन तथा सरकारी निवासमा प्रवेश गरेर आन्दोलन चर्काएपछि राजीनामा गरेर पलायन भएका उनी सैन्य सुरक्षाको साथ सरकारी परिसरमा बसिरहेका छन् । 

यसैबीच, श्रीलंकाको विदेश मन्त्रालयले बुधबार क्यानडाका कार्यवाहक राजदूतलाई बोलाएर क्यानडाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । रासस


Author

थप समाचार
x