अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा कम्तीमा १० जनाकाे मृत्यु
फाइल तस्बिर
मोन्टेरी पार्क- अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोली काण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् ।
स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।
लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयु मेयर्सका अनुसार अधिकारीहरूले शनिबार राति १० बजेर २० मिनेट जाँदा आपतकालीन कलको जवाफ दिएका थिए ।
उनले भने, 'अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए ।'
'मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो भने १० जनालाई घटनास्थलमा मृत भेटेको थियो,' मेयर्सले भने । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
शङ्कास्पद आक्रमणकारी घटनास्थलबाट भागेकाले प्रहरीले उसलाई पछ्याइरहेको छ ।
लस एन्जलस शहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास छ ।
मोन्टेरी पार्कमा करिब ६१ हजार मानिसहरू बस्छन्, जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी हुन् ।
बन्दुक हिंसासम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने एउटा वेबसाइटका अनुसार गत वर्ष ६४७ वटा सामूहिक गोली काण्ड भएको संयुक्त राज्य अमेरिकामा सामूहिक रूपमा हुने बन्दुक हिंसा एउटा ठूलो समस्या रहेको छ । अमेरिकी कानुनले चार वा सोभन्दा बढी व्यक्तिले गोली हानेको वा मारिएको घटनालाई सामूहिक गोली काण्डका रूपमा परिभाषित गरिएको छ ।
अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए ।
अमेरिकामा तीन वयस्कहरूमध्ये एकसँग कम्तीमा एउटा हतियार रहेको छ र दुई वयस्कहरूमध्ये लगभग एक जना हतियार भएको घरमा बस्छन् । एएफपी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया