समयअगावै निर्वाचन गराउन राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार
लिमा- पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ । यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो ।
राष्ट्रपतिले निर्वाचनका लागि गर्नुभएको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ । गत महिना सदनले सन् २०२६ मा हुनुपर्ने निर्वाचनलाई आगामी वर्ष एप्रिलमा गर्न सहमति जनाएको थियो । संसद् विघटन गरी पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडपमा ४७ जनाको मृत्यु भइसकेको छ ।
विरोध प्रदर्शनका कारण सडक अवरुद्ध भएका छन्भने खाद्यान्न, इन्धनलगायत अन्य आधारभूत वस्तुको अभाव भएको छ । सडक अवरोध हटाउन सरकारले थप सुरक्षाकर्मी परिचालन गर्ने बताएको छ । पेरुको स्वतन्त्र मानवअधिकार कार्यालयले सडक अवरोधका कारण उपचार नपाएर दुई जना शिशुसहित १० जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया