चिलीको जङ्गलमा लागेको डढेलोमा २३ जनाको मृत्यु
कन्सेप्सियन, चिली - चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । एक वरिष्ठ सरकारी अधिकारीका अनुसार डढेलोमा परी कम्तीमा ९७९ जना घाइते भएका छन् । “डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले भने, “प्रारम्भिक रिपोर्टमा डढेलोमा परी कम्तीमा ९७९ जना घाइते भएका जानकारी प्राप्त भएको छ ।”
मोन्साल्वेका अनुसार शनिबार पनि २३२ स्थानमा डढेलो सक्रिय रहेको थियो । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन ।
राष्ट्रपति गेब्रियल बोरिकको सरकारले अरौकानियाको दक्षिणी क्षेत्रलाई समावेश गरी ‘सङ्कटकालीन अवस्था’ को विस्तार गरेको छ । नुबल र बायोबियोका क्षेत्रहरूलाई प्राकृतिक विपद् क्षेत्रका रूपमा हेर्ने गरिएको छ । ‘मृतकहरूको संख्या बढ्दै गइरहेको यस अवस्थामा सङ्कटकालीन अवस्था’ को विस्तारले बोरिकलाई आगोसँग जुध्न सेना परिचालनका लागि मार्गप्रशस्त भएको छ ।
डढेलो क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुगेको कारण डढेलो नियन्त्रणगर्ने प्रयासमा बाधा पुगेको अधिकारीहरूले बताएका छन् ।
राजधानी सान्टियागोबाट ५१० किलोमिटर दक्षिणमा रहेको कन्सेपियन शहरमा जानका लागि बिदा स्थगन गरेका बोरिकले ट्वीट गर्दै जंगलमा लागेको डढेलोसँग जुध्न र परिवारलाई सहयोग गर्न आफू निरन्तर लागिरहने बताएका छन् ।
बोरिकका अनुसार अर्जेन्टिनाले अग्निनियन्त्रक र उपकरण पठाउने प्रस्ताव गरेको छ ।
ब्राजिल, उरुग्वे, मेक्सिको र स्पेनले पनि सहयोगको प्रस्ताव गरेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिए ।
“जलवायु परिवर्तनको विकासक्रमका कारण हामी डढेलोको जोखिममा रहेका देशहरूमध्ये एक बनिरहेका छौँ,” उनले भने ।
तीन वर्ष अघिसम्म चरम जस्तो देखिने डढेलोको अवस्था अहिले दिनप्रतिदिन सामान्य हुँदै गएको उनले बताए ।
तीमध्ये १० जनाको मृत्यु कन्सेप्सियन प्रान्तको सान्टा जुआना शहरमा भएको अधिकारीहरूले यसअघि बताएका थिए ।
डढेलोका कारण कम्तीमा ८८ घर जलेर नष्ट हुनुका साथै ४७ हजार हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले बताएका छन् ।
सान्टा जुआनाका मेयर एना अल्बोर्नोजले भन्नुभयो, “इलाका निकै विकट छ र सडकहरू खराब भएका कारण डढेलो नियन्त्रण प्रयासमा समस्या भएको छ ।
“हाम्रो ग्रामिण जनसङ्ख्या निकै थोरै छ, एक परिवार एउटा पहाडको टुप्पोमा र दोस्रो अर्को डाँडामा बस्छन्, तर सहरी क्षेत्रमा भीडभाड छ,” उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया