टर्की भूकम्पः २२ हजारभन्दा बढीको मृत्यु
इस्तानबुल - टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तराष्ट्रिय सहायताका निम्ति अपील गरेको छ ।
उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन् भने विद्रोहीले पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् ।
टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् । विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलव्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् ।
यसअघि अन्तरराष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचालन गर्ने बताएको थियो । संयुक्त राष्ट्रसंघीय सहायता निकायका छ वटा विशाल वाहन राहत सामग्री लिएर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तरराष्ट्रिय सहयोग हो । टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ ।
यसैगरी बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् । अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहयोगको घोषणा गरेको छ । अर्थमन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया