विश्व

भूकम्प प्रभावित सिरियाका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ आग्रह

इकागज |
फागुन १, २०७९ सोमबार २१:१४ बजे

फाइल फोटो

अलेप्पो - संयुक्त राष्ट्रसंघका राहत प्रमुखले भूकम्प प्रभावित सिरियालाई आश्रय, खाना र विद्यालय शिक्षा जस्ता अत्यावश्यक क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् ।

मानवीय मामिला तथा आपतकालीन राहत संयोजकका लागि संयुक्त राष्ट्रका उप(महासचिव मार्टिन ग्रिफिथ्सले सिरियामा तीन महिनाको लागि मानवीय आवश्यकताहरू पूरा गर्ने योजना रहेको पनि बताएका छन् ।


 'अहिले (मानवीय चरणमा) पीडितलाई आश्रय प्रदान गर्ने रहेको छ, त्यसपछि क्रमशः अन्य क्षेत्रमा पनि राहत यथाशीघ्र उपलब्ध गराउन आवश्यक देखिएको उनले बताएका छन् ।

इडलिबको उत्तरपश्चिमी प्रान्तमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रको अवस्थाबारे ग्रिफिथ्सले भने-संयुक्त राष्ट्रसंघले उक्त क्षेत्रमा यथाशीघ्र सहयोग पुर्‍याउन र राहत सामग्रीको ट्रक त्यसतर्फ पठाउँने छौं । 

उनले भूकम्पको अन्तरराष्ट्रिय खोज र उद्धार प्रतिक्रियालाई 'इतिहासमा अतुलनीय' भनेर प्रशंसा समेत गरेका छन् । अघिल्लो हप्ता सिरियामा गएको भूकम्पका कारण ५३ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । 

उत्तरपश्चिम सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार तीन सय पुगेको र सात हजार छ सय घाइते भएको पनि संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले सोमबार उल्लेख गरेको छ ।

यसै बीच सिरियाली स्वास्थ्य मन्त्रालयले सरकारी नियन्त्रित क्षेत्रमा भूकम्पका कारण एक हजार ४१४ जनाको ज्यान गएको र दुई हजार तीन सय ४९ जना घाइते भएको अनुमान गरेको छ ।


Author

थप समाचार
x