विश्व

भारतले खोप निर्यात बन्द गरेपछि अफ्रिकी मुलुक समस्यामा

इकागज |
बैशाख २१, २०७८ मंगलबार १८:५४ बजे

काठमाडौँ: कोभिड–१९ ले विश्व नै आक्रान्त बनेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभ्याक्स कार्यक्रम अघि सार्‍यो । जसको लक्ष्य गरिब मुलुकलाई निशुल्क खोप उपलब्ध गराउने थियो। धेरै जसो अफ्रिकी मुलुकको खोप कार्यक्रम पनि कोभ्याक्समाथि निर्भर छ । 

तर पछिल्लो समय अफ्रिकी मुलुक समस्यामा परेका छन् । कारण? कोभ्याक्सले ती अफ्रिकी मुलुकलाई खोप उपलब्ध गरउन नसक्ने स्थिति पैदा भएको छ । किनभने, कोभ्याक्सलाई खोप उपलब्ध गराउने भारतको सेरुम इन्स्टिच्युटले हाल निर्यात बन्द गरेको छ । भारतमै कोभिड–१९ संक्रमणमा पर्नेको संख्यामा व्यापक वृध्दि भएपछि नरेन्द्र मोदी सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । जसका कारण सेरुममा उत्पादित खोप भारतमै प्रयोग भइरहेको छ ।   


सेरुमले उत्पादन गरी कोभ्याक्समार्फत निर्यात गरिरहेको अस्ट्राजेनेका खोप अफ्रिकामा फैलिदै गएको संक्रमणविरुद्ध बलियो हतियार साबित भएको थियो । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अहमद ओगवेल भारतबाट खोप आउन छाडेपछि अफ्रिका अफठ्यारोमा परिरहेको बताउँछन् । ‘धेरैजसो अफ्रिकी मुलुकमा खोप कार्यक्रम सुरु भएकै कोभ्याक्सको सहायतामा हो । करिब २० मुलुकले कोभ्याक्सको सहयोगमा पहिलो डोजको खोप वितरण गरेका थिए । अब दोस्रो डोजका लागि ढोका बन्द भएको छ,’ ओगवेल भन्छन् । 

उसै पनि सेरुमबाट उत्पादित खोपको अधिकांश हिस्सा विकसित मुलुकतर्फ गइरहेको थियो । थोरै मात्रामा भए पनि कोभ्याक्समार्फत आइरहेको खोप नआउने भएपछि अब खोप कार्यक्रमले कठिन बाटो तय गर्नुपर्ने देखिएको छ । ‘भारतमा खोपको माग ह्वात्तै बढ्नु भनेको, विश्वकै लागि खराब खबर हो,’ कयाम्ब्रिज विश्विद्यालयमा क्लिनिकल माइक्रोबाइओलोजी पढाउने रवी गुप्ता भन्छन् । 

कोभ्याक्सलाई जुनको अन्त्य सम्ममा करिब २ करोड डोज खोप आवश्यक रहेको बताइएको छ । सेरुमले खोप निर्यात बन्द गरेपछि कोभ्याक्सले केही सम्पन्न मुलुकहरुसँग गुहार मागेको छ । त्यसो त कोभ्याक्सले मोडेर्नाले विकास गरेको खोप खरिद गर्ने सम्झौँता गरेको छ । सोमबार मात्रै कोभ्याक्स र मोडेर्नाबीच ५० करोड डोज खोपका लागि सम्झौँता भएको छ । यद्यपि मोडेर्नाले सन् २०२१ को अन्त्यबाट मात्रै कोभ्याक्सलाई खोप उपलब्ध गराउन सुरु गर्नेछ । 

अफ्रिकाको अभाव
कोभ्याक्सले अफ्रिकाका लागि अप्रिलसम्ममा करिब ११ करोड डोज खोप प्राप्त गरिसक्नुपर्ने थियो । तर हालसम्म कोभ्याक्स अन्तर्गत २ करोड ४० लाख डोज मात्रै प्राप्त गरेको छ । कोभ्याक्सकै भरमा पहिलो डोज वितरण गरेका अफ्रिकी मुलुक अहिले तनावमा छन् । बजारमा अस्ट्रजेनेका बाहेक अन्य खोपको उत्पादन नभइरहेको होइन । तर अधिकांश अफ्रिकी मुलुक ती खोपको पहुँचभन्दा बाहिर छन् ।    

घानामा रहेकी सरुवा रोग विशेषज्ञ बेर्था आयी पहिलो डोजले ५० प्रतिशत मात्रै इम्युनिटी प्रदान गर्ने बताउँछिन् । कोभिड–१९ महामारीविरुद्धको अफ्रिकी लडाईमा पहिलो डोज खोप पर्याप्त नभएको आयीको भनाइ छ । ‘अफ्रिकी मुलुकहले कोभ्याक्सबाट खोप आउन बन्द भए, आफैँ अर्को स्रोतको खोजी गर्नुको विकल्प छैन । त्यसमा जोनसन एण्ड जोनसनको खोप एउटा बलियो विकल्प हुनसक्छ,’ आयी भन्छिन् । 

ओगवेल आफ्नो संस्था र भारत सरकारबीच कुराकानी भइरहेको बताउँछन् । वाचा गरेको भन्दा कम भए पनि खोप उपलब्ध गराउन भारत राजी हुनसक्ने विश्वास ओगवेलले लिएका छन् । उता अफ्रिकी युनियनले जोनसन एण्ड जोनसनलगायतका खोप उत्पादकहरुसँग कुरा गरिरहेको बताएको छ । जोनसन एण्ड जोनसन आफैँले पनि अफ्रिकालाई ४० करोड डोज सम्म खोप उपलब्ध गराउने वाचा गरेको छ । तर जोनसन एण्ड जोनसनले जुलाई भन्दा अगाडि अफ्रिकातर्फ खोप निर्यात गर्ने सम्भावना देखिदैन ।

हालसम्म विश्वभर एक अर्ब भन्दा धेरै डोज खोप लगाइसकिएको छ । अत्यन्तै गरिब मानिने २९ मुलुकले कुल खोपको ०.२ प्रतिशत प्राप्त गरेका छन् । जब की ती २९ मुलुकमा विश्वको ९ प्रतिशत जनसंख्याको बसोबास रहेको छ ।  (डीडब्लुबाट) 


Author

थप समाचार
x