युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसंघको अनुरोध
फाइल फोटो
संयुक्त राष्ट्रसंघ - युक्रेनबाट आफ्ना सेना निःशर्त फिर्ता गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघले समग्रतामा युक्रेनको न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको छ । राष्ट्रसंघीय महासभामा प्रस्तुत शान्ति प्रस्तावको पक्षमा एक सय ४१ देशले मतदान गरेर युक्रेनप्रतिको आफ्नो समर्थन जनाएका छन् ।
एक सय ९३ सदस्यीय संयुक्त राष्ट्रसंघमा युक्रेनको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र मालीले मतदान गरेका छन् भने चीन र भारतसहित ३२ देश मतदानमा सहभागी भएनन् । युक्रेनलाई प्राप्त यो समर्थन बाध्यकारी भने होइन । गत अक्टोबरमा रुसले युक्रेनका चार क्षेत्रलाई गाभेको घोषणाको निन्दा गर्न भएको मतदानमा एक सय ४३ देशले भाग लिएका थिए । अर्थात् ती देश युक्रेनको पक्षमा उभिएका थिए ।
युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रसंघीय महासभाको मतपरिणामले अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्षमा रहेको स्पष्ट भएको बताएका छन् । भने अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मतदानबाट युक्रेनमा संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तअनुरूप युक्रेनको ‘व्यापक, न्यायपूर्ण र दिगो शान्तिको लागि शक्तिशाली आह्वान’ भएको टिप्पणी गरेका छन् ।
युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ र समर्थनप्रति आभार व्यक्त गर्दै ‘ग्लोबल’ साउथ युक्रेनको पक्षमा उभिदैन भन्ने तर्कलाई प्राप्त मतले अस्वीकार गरेको बताए । उनले सत्य कसको पक्षमा छ भन्ने तथ्य पनि अन्तरराष्ट्रिय समुदायले बुझेको बताए ।
महासभामा भारी मतबाट पारित भएको शान्ति प्रस्तावले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको समर्थनलाई पुनः पुष्टि भएको छ भने रुसले कब्जा गरेको युक्रेनी भूभागमा रुसको दाबी अस्वीकृत भएको छ । मतदानले एक वर्षको युद्धपछि विश्व मञ्चमा मस्को निरन्तर एक्लिएको प्रमाणित गरेको छ भने उसलाई तत्काल बिना शर्त आफ्ना सबै सैन्य बल युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानाबाट फिर्ताका साथै शत्रुता समाप्त गर्न नैतिक दवाव दिएको छ ।
आफूलाई प्राप्त सीमित समर्थनलाई ख्याल नगरी रुसले सुरक्षा परिषद्मा आफू विरुद्धका बाध्यकारी प्रस्ताव रोक्न आफ्नो भिटो शक्ति प्रयोग गरेको छ । उसले भिटो प्रयोग गरे पनि महासभाले युक्रेन मुद्दालाई उठाएर किएभप्रति विश्वसमर्थन जुटाएको छ ।
जापानका विदशमन्त्री योशिमासा हयाशीले मूर्खतापूर्ण आक्रमक युद्धको दोस्रो वार्षिकी फेरि भेट्न नहुने बताउँदै रुसले तत्काल युद्ध अन्त्य गर्नुपर्नेमा जोडे दिएका छन् । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनले आजै रुसले युद्ध अन्त्य गर्नुपर्ने माग गरेको छैन् । उनले रुसले थालेको युद्धले राज्यको अस्तित्वलाई जोखिममा पारेको तथा साम्राज्यवादी योजनाको प्रतिनिधित्व गरेकाले त्यो अस्वीकृत भएको बताए ।
रुसले पारित प्रस्ताव खारेज गर्दै युक्रेनलाई नवनाजीको संज्ञा दिए । संयुक्त राष्ट्रसंघका लागि रुसका स्थायी प्रतिनिधि भासिली नेबेन्ज्याले पश्चिमा राष्ट्रहरूले रुसलाई हराउने उद्देश्यका साथ काम गरिरहेको आरोप लगाउनुभयो । उनीहरू सम्पूर्ण विश्वलाई युद्धको खाडलमा डुबाएर आफ्नो आधिपत्य कायम गर्न उद्यत रहेका बताउनुभयो ।
मतदानमा भाग नलिएका भारत र चीनले युक्रेनमा रुसी आक्रमणको निन्दा नगरे पनि मस्कोले दिएको आणविक हतियारको धम्कीको विरोध गरेका छन् । मतदान अघि राष्ट्रसंघका लागि चीनका उपप्रतिनिधि डाई विङले तटस्थताको अडान लिएर दुवै पक्षलाई युद्ध अन्त्य गर्न र शान्ति वार्ता थाल्न आह्वान गरे । उनले रुस र युक्रेनबीच तत्काल प्रत्यक्ष शान्तिवार्ता हुनुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया