किन फस्टाइरहेको छ केन्यामा बालबालिकाको व्यापार ?
अनिताले चोरेको बालिकाको मोल ८० हजार केन्याली सिलिङ ।
रेबेकाको छोरो १० वर्षको भइसकेको छ । उनीसँग नरहेको उनको छोरा उनी बसोबास गर्ने नैरोबीमा नै पनि हुनसक्छ वा अन्यत्र कतै । उनलाई थाहा छ कि छोरो मारिइसकेको पनि हुनसक्छ । रेबेकाले आफ्नो पहिलो सन्तान लरेन्स जोजायलाई अन्तिमपटक एक वर्षको हुँदा देखेको थिइन ।
त्यसबेला उनी मात्र १६ वर्षकी थिइन् । यो मार्च २०११ को कुरा हो । रेबेका १५ वर्षकी हुँदा उनकी आमाले विद्यालयको शुल्क तिर्न सकिनन् । उनले पढाइ छाड्नुपर्यो । गरिबीले सडकमा पुगेकी उनले एउटा बूढो मानिस भेटिन् । त्यसले उनीसँग बिहे गर्ने वाचा गर्यो तर गर्भवती बनाएर छाडेर हिँड्यो । अर्को वर्ष लरेन्स जोजाय जन्मियो । रेबेकाले उसलाई एक वर्षसम्म पालनपोषण गरिन् ।
छोरो गुमाउँदा...
लरेन्स एक वर्ष र केही महिनाको मात्र भएको थियो । एकरात निद्राले उनका आँखा बन्द भए, लरेन्स त्यसै रात हरायो । भावुक बन्दै उनी भन्छिन्, 'मसँग अन्य सन्तान भए पनि उ मेरो पहिलो बच्चा थियो । उसैले मलाई आमा बनाएको हो । मैले कियाम्बु र क्ययोलेका सबै बालबालिका केन्द्रहरूमा खोजे तर मैले कहिल्यै उसलाई भेट्न सकिन ।'
रेबेका अहिले पनि नैरोबीको सोही सडकमा बस्छिन् । उनका हाल आठ, छ र चार वर्षका तीन छोरीहरू छन् । उनकी सबैभन्दा सानी छोरीलाई पनि एकपटक त्यस क्षेत्रमा घुमिरहेको एउटा मानिसले समातिसकेको थियो ।
करिब एक वर्षकी उनकी छोरीले पेय पदार्थ किनिदिन आग्रह गरेको उसले दाबी गरेको थियो । उनले उक्त मानिसलाई पछ्याइन् । त्यो मानिस एउटा कारमा चढ्यो जहाँ एउटी महिला उसलाई पर्खिरहेकी थिइन् । अर्को दिन पनि त्यो व्यक्ति फेरि त्यस क्षेत्रमा आएको थियो ।
समान कथा
रेबेका बसोबास गर्ने सडक वरपरका साथसाथै घरबारविहीन नैरोबीवासीमाझ यस्ता कथा थाहा पाउन तपाईँले धेरै मेहनत गर्नुपर्दैन । एस्थरको तीन वर्षे छोरो अगस्ट २०१८ देखि बेपत्ता छ । उनी भन्छिन्, 'मैले मेरो छोरा हराएदेखि शान्तिको सास फेर्न पाएकी छैन । मैले उसलाई मोम्बासासम्म खोजेँ ।'
क्यारोलको दुई वर्षे छोरालाई आधा रातमा तानेर लगिएको पाँच वर्ष भयो । उनी भन्छिन्, 'म उसलाई धेरै माया गर्छु । यदि उनीहरूले मेरो छोरा मात्र फिर्ता गरिदिए उनीहरूलाई म माफ गर्थेँ ।' नैरोबीमा फस्टाउँदो अवैध बजारमा बालबालिका उपलब्ध गराउन कमजोर आमाहरूलाई सिकार बनाइँदैछ ।
करिब एक वर्ष लामो अनुसन्धानबाट अफ्रिका आईले त्यस्तो बजारमा घरबारविहीन आमाहरूबाट बालबालिका खोसेर उच्च नाफाका साथ महँगोमा बिक्री गर्ने गरेको प्रमाणहरू पत्ता लगाएको छ । हामीले सडकहरूमा रहेका क्लिनिकहरूमा बालबालिकाको अवैध तस्करी हुने गरेको र बिक्रीका लागि सरकारी अस्पतालबाट बच्चाहरू चोरिने गरेको पत्ता लगाएका छौँ ।
'हामीले बालक किन्यौँ'
हामीले सरकारी अधिकारीको संलग्नतालाई प्रमाणित गर्न अस्पताल अधिकारीसँग एक बेवारिसे बालकलाई किन्यौँ । उनले हामीलाई बेच्नुअघि उक्त दुई साताको शिशुलाई वैधानिक कागजात बनाएर आफ्नो नियन्त्रणमा ल्याएका थिए ।
बच्चा चोरहरूमा अवसरवादीदेखि सङ्गठिन अपराधीहरू समेत रहेका छन् । यी दुवैले साथसाथै काम गर्ने गर्छन् । कमजोर अवसरवादीहरूमा अनिताजस्ता महिलाहरू पर्छन् । दुर्व्यसनी अनिता आफैँ सडकमा बस्छिन् र पैसाका लागि रेबेकाजस्ता महिलाका बच्चालाई चोरेर बेच्ने काम गर्छन् ।
उनीहरूको तारोमा तीन वर्ष मुनिका शिशु भएका आमाहरू पर्छन् । अफ्रिका आईले अनिताकी एकजना नाम खुलाउन नचाहने साथीमार्फत् उनको बारेमा पत्ता लगाएको हो ।
ती साथीका अनुसार अनिताले फरक-फरक विधि अपनाएर बच्चा चोर्ने गर्छिन् । हामीले सम्भावित खरिदकर्ताको भेष बनाएर अनितासँग नैरोबीको एउटा पबमा भेटघाट गर्यौँ । उनले आफूलाई आफ्नो 'बोस'ले धेरै बच्चाहरू चोर्न दबाव दिइरहेको र हालै उनले गरेको चोरीबारे हामीलाई बताइन् ।
संलग्नहरू
अनिताका अनुसार एकजना स्थानीय व्यापारी उनको बोस हुन् । उनका अनुसार ती व्यापारीले अनिताजस्तै चोरहरूबाट बच्चा किनेर ठूलो नाफासहित बच्चा बिक्री गर्ने गर्छन् । अनिताले भनिन्, 'खरिदकर्तामा केही महिला हुन्छन् जसले बच्चा जन्माउन सक्दैनन् । उनीहरू पाल्नका लागि बच्चा खोज्छन् । कतिले चाहिँ बली दिनका लागि पनि बच्चालाई प्रयोग गर्छन् ।'
अनिताकी साथीले हामीलाई पहिले नै भनेको कुराले एउटा कालो सच्चाइको सङ्केत गर्यो । अनिताका अनुसार केहीले परम्परागत अनुष्ठानका लागि पनि बच्चा किन्ने गर्छन् । वास्तवमा अनिताले एकपटक बिक्री गरिसकेपछि ती बच्चाको भविष्यबारे थोरै मात्र जानकारी पाउँछिन् ।
उनी आफ्नो बोसलाई ५०,००० सिलिङमा (३५० पाउन्ड) बालिका र ८०,००० सिलिङमा (५५० पाउन्ड) बालक बिक्री गर्छिन् । यो नैरोबीको अवैध बजारमा चोरीलगत्तै पहिलो क्रेताका लागि बिक्री गरिने औसत मूल्य हो । यो भेटलगत्तै अनिताले हामीलाई भेट्ने प्रस्ताव राखिन् । उनले पाँच महिनाकी बालिका साथमा लिएर आएकी थिइन् ।
आमाको मन जितेर ती बालिकालाई चोरेको बताएकी उनले ५०,००० सिलिङमा बालिका किन्ने खरिदकर्ताहरू रहेको बताइन् । उनीसम्म हामीलाई पुर्याउने साथीले ८०,००० सिलिङ दिने ग्राहक रहेको बताएर भोलिपल्ट साँझ समय मिलाएको थियो ।
हामीले प्रहरीलाई खबर गरेर अनितालाई पक्राउ गरी बालिकालाई बचाउने प्रयास गर्यौँ तर अनिता देखा परिनन् । ती बालिका बिक्री भइन् । केही दिनपछि मात्र उनकी साथीले अनिताको खबर पाइन् । उनका अनुसार अनिताले महँगो मूल्यमा ती बालिकाको बिक्री गरिन् र नैरोबीको एउटा सुकुम्बासी बस्तीमा टिनको छानो भएको दुईकोठे घर बनाउन उक्त रकम खर्चिने बताइन् ।
न तथ्याङ्क न विवरण
केन्यामा बाल तस्करीको यकिन तथ्याङ्क पाइँदैन । न सरकारी प्रतिवेदन छन् न त राष्ट्रिय सर्वेक्षण नै छ । हराएका बालबालिका खोज्ने निकायहरू पनि स्रोतसाधन र जनशक्ति अभावमा रहेका छन् । मिसिङ चाइल्ड केन्या नामक गैर सरकारी संस्थाले भने चार वर्षदेखि हराएका बालबालिकाबारे काम गरिरहेको छ । उक्त संस्थाका अनुसार बालबालिका तस्करी केन्यामा कम चर्चा भएको तर ठूलो समस्या हो ।
कति घटनाहरू रिपोर्ट नै नहुने गरेको उक्त संस्थाकी सञ्चालिका बताउँछिन् । अफ्रिकी विवाहमा महिलामा बाँझोपन देखियो भने त्यसलाई निकै नराम्रोसँग हेरिने भएकाले पनि यो अवैध बजार फस्टाएको उनको तर्क छ । अफ्रिका आईको अनुसन्धानले बालबालिका तस्करीको अपराधमा कतिपय ठूला सरकारी अस्पतालहरूको संलग्नता पनि रहेको देखाएको छ ।
तर हामीले अनुसन्धानमा खरिदकर्ता बनेर भेटेका अधिकारीहरूले पछि बीबीसीले प्रतिक्रिया लिँन खोज्दा उनीहरूले प्रतिक्रिया दिएनन् । सडकका क्लिनिकले पनि त्यसबारे जवाफ फर्काएको छैन । अनितालाई उनको धारणा राख्न खोजी गर्दा उनी पनि उपलब्ध भइनन् । नैरोबीमा चलेको अवैध बालबालिका तस्करीले आफ्ना बालबालिका चोरिएका आमाहरू भने उनीहरूको बेपत्ता अवस्थाबारे दोधारमा बाँचिरहेका छन् । (बीबीसी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया