विश्व

जब मृत्यु भएको भनिएका 'फेसबुक रेपिस्ट' र हत्यारा पक्राउ परे…

इकागज |
चैत २६, २०७९ आइतबार १२:१ बजे

काठमाडौँ- आफ्नो मृत्यु भएको भन्दै दक्षिण अफ्रिकाको जेलबाट फरार भएका एक बलात्कारी तथा हत्यारा तान्जानियाबाट पक्राउ परेका छन् । विगत एक वर्षदेखि प्रहरीको खोजीमा रहेका थाबो बेस्टरले जेलमा आफैलाई आगो लगाएपछि उनको मृत्यु भएको आशंका गरिएको थियो ।

बीबीसीले जनाए अनुसार पोस्टमार्टमका क्रममा आगो लागेर मृत्यु भएका व्यक्ति थाबो नभएको खुलासा भएपछि प्रहरीले उनको खोजी कार्य तिब्र पारेको थियो ।


थाबोलाई शुक्रबार उनकी प्रेमिकासँगै पक्राउ गरिएको तथा उनलाई दक्षिण अफ्रिका ल्याउने तयारी गरिएको छ । प्रहरीका अनुसार उनीहरु केन्या भाग्ने तयारीमा रहेका थिए ।

सामाजिक सञ्जालको प्रयोग गरि महिलाहरुलाई फसाउने गरेका कारण ‘फेसबुक रेपिस्ट’ को रुपमा चिनिएका थाबोलाई आफ्नी प्रेमिका नोमफुन्डो टायहुलुको बलात्कारपछि हत्या गरेको प्रमाणित भएपछि सन् २०१२ मा जेल सजाय सुनाइएको थियो ।

त्यसअघि उनले थप दुई महिलालाई बलात्कार गरेको तथा उनीहरुलाई लुटेको समेत प्रमाणित भएको थियो ।

गत वर्ष मे महिनामा थाबोले जेलमै आफैलाई आगो लगाएको तथा त्यसमा उनको मृत्यु भएको जनाइएको थियो । तर स्थानीय संचारमाध्यमहरूले भने उनको मृत्युलाई लिएर आशंका व्यक्त गरेका थिए ।

पोस्टमार्टमले मृत्यु भएका व्यक्ति बाथो नभएको प्रमाणित भएपछि गत मार्चमा प्रहरीले पुनः छानविन सुरु गरेको थियो । जेलको सुरक्षाको जिम्मेवारी पाएको बेलायती कम्पनी जी४एसमाथि उनलाई भगाएको आशंका गरिएको छ । सो घटनालाई लिएर उक्त कम्पनीका तीन कर्मचारीलाई वर्खास्त समेत गरिएको छ ।


Author

थप समाचार
x