विश्व

राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै, मेघनले गरिन् निमन्त्रणा अस्वीकार

इकागज |
चैत ३०, २०७९ बिहीबार १५:४७ बजे

फाइल फोटो

काठमाडौँ - आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिने भएका छन् । उनकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्ने छन् । 

राज्याभिषेक समारोहमा राजकुमार दम्पतीको सहभागितालाई लिएर महिनौंको अनुमानको अन्त्य गर्दै बकिङ्घम दरबारले ड्युक अफ ससेक्स उपस्थित हुने तर उनकी पत्नी डचेस अफ ससेक्स सहभागी नहुने पुष्टि गरेको हो । 


आगामी वैशाख २३ गते राजा चाल्र्स तृतीयको वेस्टमिनिष्टर गिर्जाघरमा राज्याभिषेक हुँदैछ । उक्त समारोहमा विश्वभरका शीर्ष नेता तथा व्यक्तिसहित दुई हजार विशिष्ट पाहुनाका बीचमा राजदरबार त्यागेका राजकुमार ह्यारी पनि अतिथि बन्नेछन् । प्राप्त समाचारअनुसार डचेस अफ ससेक्स मेघनले आमन्त्रण अस्वीकार गरेकी छिन् । 

राजपरिवारका सदस्यसँगको आफ्नो मत भिन्नता, बेलायती सञ्चार माध्यमबाट राजकुमार ह्यारी र शाही परिवारलाई लिएर भएका गतिविधि, उनकी श्रीमती मेघनका विषयमा राजपरिवारका सदस्यले गरेका टिप्पणीलगायत राजपरिवारको सदस्यका रूपमा भोगेका आरोह अवरोह समेटेर प्रकाशन भएको उनको पुस्तक ‘स्पेयर’ विश्वभर चर्चित भएको छ । राजपरिवारसँगको उनको यो भेट उक्त पुस्तक बजारमा आएपछिको पहिलो हुनेछ । 

पारिवारिक मनोमालिन्यका कारण तीन वर्षअघि राजकुमार ह्यारी र उनकी पत्नी मेघनले राजकीय कर्तव्यबाट अवकाश लिएको घोषणा गर्दै अमेरिका बसाँइ सरेका थिए । राजपरिवारका सदस्यबीचको वैमनस्यता गत महिना फेरि सार्वजनिक भयो जब विन्डसर दरबारमा रहेको राजकुमार ह्यारीको निवास फ्रोगमोर कटेज  खाली गर्न भनिएको थियो ।


Author

थप समाचार
x