विश्व

पश्चिमी म्यान्मारमा ड्रोन आक्रमणमा बालबालिकासहित आठ जनाको मृत्यु

इकागज |
बैशाख १, २०८० शुक्रबार १८:३६ बजे

फाइल तस्बिर

याङ्गुन- पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको मृत्यु भएको छ । म्यान्मारको राज्य प्रशासन परिषद्का अनुसार घटनामा अन्य ३१ जना घाइते भएका छन् । 

स्थानीय समयअनुसार बिहीबार साँझ ५ः४० बजे सागाइङ क्षेत्रको सागाइङ शहरको एक गाउँमा रहेको एक सरकारी विद्यालय नजिकै ड्रोनमार्फत बम आक्रमण गरिएको समाचारमा जनाइएको छ ।


परम्परागत थिङयान जल महोत्सवको पूर्वसन्ध्यामा ड्रोनबाट चार वटा बम खसालेको बताइएको छ ।

मृत्यु हुनेमा परम्परागत थिङयान जल महोत्सव मनाइरहेका बालबालिकासहित गाउँले रहेका छन् । घाइतेलाई उपचारका लागि सागाइङ्ग अस्पतालमा पठाइएको जनाइएको छ ।

सोही दिन पूर्वी म्यानमारको शान राज्यको लाशियो शहरमा भएको बम विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । आक्रमणकारीको खोजी कार्य जारी रहेको बताइएको छ । सिन्ह्वा


Author

थप समाचार
x