विश्व

जापानमा शक्तिशाली भूकम्प, एकको मृत्यु

इकागज |
बैशाख २२, २०८० शुक्रबार २०:४० बजे

टोकियो- जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन् ।
'त्यहाँ एक ठूलो, लामो कम्पनको महसुस गरिएको थियो । कम्पन करिब दुई मिनेटसम्म महसुस गरिएको थियो । 


'कम्पन निरन्तर चलिरह्यो जसका कारण मलाई डर लाग्यो,' टढं सुजु शहरका एक स्थानीय सरकारी अधिकारीले आफ्नो नाम बताउन अस्वीकार गर्दै सार्वजनिक प्रसारक एनएचकेसँग बताए ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भूकम्पको क्षतिबारे राजधानी टोकियोमा पत्रकारहरूसँग कुरा गर्दै एक जनाको मृत्यु भएको र कैयौँ भवनहरू भत्किएको समाचार प्राप्त भएको बताएका छन् । 

सुजुका सङ्कट व्यवस्थापन अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिको भर्‍याङबाट खसेर मृत्यु भएको थियो । भूकम्पका कारण अन्य २१ जना घाइते भएका छन् । स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार कम्तीमा तीन वटा संरचना ध्वस्त भएका छन् भने दुई जना फसेका छन् । 

एक जनालाई भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको छ भने उद्धारकर्ताले अर्काको खोजी गरिरहेका छन् ।

एनएचकेको फुटेजमा परम्परागत काठका घरहरू भत्किएका वा ढलेका झ्यालहरू र क्षतिग्रस्त छानाहरू देखाइएको छ । आकाशबाट लिइएका तस्बिरमा केही क्षेत्रमा भूकम्पका कारण घरहरू पूर्ण वा आंशिक रूपमा क्षति भएको देख्न सकिन्छ । सिन्ह्वा


Author

थप समाचार
x