विश्व

चार्ल्स तृतीय र क्यामिलालाई बाइडेनको बधाई

इकागज |
बैशाख २३, २०८० शनिबार २०:३१ बजे

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् । उनले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उनीहरूप्रति सद्भाव व्यक्त गरेका छन् । 

लण्डनमा आयोजित समारोहमा सहभागी नभएका अमेरिकी राष्ट्रपति वाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भनेका छन् । 


राज्याभिषेक समारोहमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गरेका छन् । अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत सम्प्रेषित बधाई सन्देशमा भनेका छन्, 'यस ऐतिहासिक अवसरको लागि अमेरिकी प्रथम महिला वाइडेन त्यहाँ उपस्थित भएको र यसमा मलाई गर्व लागेको छ ।'

शुक्रबार प्रसारित एक अन्तर्वार्तामा बाइडेनले जुलाईमा नयाँ राजालाई विशेष गरी वातावरणका बारेमा कुरा गर्न आफूले भेट्ने बताएका थिए । 

'हामी युरोपमा नेटोको सम्मेलनमा जान लागेका छौं, र मैले (चार्ल्स ) लाई उक्त अवसरमा भेट्नेछु,' बाइडनले एमएसएनबीसीसँग भने । 

नेटोको वार्षिक शिखर सम्मेलन जुलाई ११ र १२ मा लिथुआनियाको भिल्नियसमा हुने तय भएको छ ।

बाइडेनले अप्रिलको सुरुमा चार्ल्सलाई फोन गरेर गद्दी आरोहण भएकोमा बधाई दिएका थिए । एएफपी


Author

थप समाचार
x