विश्व

भारतमा कोभिड संक्रमणदर घट्‍यो, मृत्युदर घटेन

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १४:४ बजे

नयाँ दिल्ली : भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ । 


मन्त्रालयका अनुसार दैनिक कोभिड-१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् । 

भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । 

भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्‍न भएको छ । विभिन्‍न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कफ्र्यु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । 

सरकारले कोभिड-१९ विरुद्धको खोपलाई पनि तिब्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन शुरु गरेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् । (एएनआई)


Author

थप समाचार
x