विश्व

म्यानमारमा आएको आँधीका कारण पाँच जनाको मृत्यु

इकागज |
जेठ १, २०८० सोमबार २१:२७ बजे

फाइल तस्बिर

याङ्गुन– म्यानमारमा आइतबार आएको भीषण चक्रवात आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लिङले सोमबार दिएको जानकारी अनुसार आँधी शक्तिशाली भए पनि कम क्षति पुगेको र राम्रो प्रतिरोधी व्यवस्थाको तयारी गरिएको बताएका छन् ।

आँधीबाट मृत्यु हुनेमा शान राज्यको ताचिलेक टाउनशीपका दुई जना, राखिन राज्यको सिट्वे र तौनगुप शहरका एक-एक जना र अय्यारवाडी क्षेत्रको येकी शहरका एक जना रहेको बताइएको छ । सञ्चार माध्यमका अनुसार चक्रवातले ८६४ घर, ११ धार्मिक भवन, १६ गुम्बा, ६४ विद्यालय, १४ अस्पताल, ७ टेलिकम टावर, ७१ ल्याम्पपोस्ट र ३८ विभागीय भवनमा क्षति पुर्याएको छ ।


आँधी प्रभावित क्षेत्र र राज्यहरूमा राखिन, अय्यारवाडी, बागो, याङ्गुन, मगवे, सागाइङ, चिन, मण्डले र नेपी ताव काउन्सिल क्षेत्र लगायत रहेका छन् । आँधी आइतबार पश्चिमी म्यानमारको रखाइन राज्यको सिट्वे नजिकै १३० माइल प्रतिघण्टा (लगभग २०९ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको र देशका झण्डै ५०० वडा र गाउँहरूमा व्यापक धनजनको क्षति पुर्याएको बताइएको छ । राखिन र चीन राज्यका शहरहरूमा थप हाताहाती र सम्पत्तिको क्षति बारे अध्ययन अनुसन्धान भइरहेको छ ।

म्यानमारले सोमबार रखाइन राज्यका १७ वटा टाउनशीपलाई प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र घोषणा गरेको छ । साथै आँधी चक्रवातका कारण  दक्षिणपूर्वी एसियाली देशमा सबैभन्दा ठूलो धनजनको क्षति भएको उल्लेख गरिएको छ । सोमबार दिउँसो म्यानमारको मौसम निकायले जनाएअनुसार अनुसार आँधी चक्रवात चीनमा न्यून चापीय अवसादमा परिणत भएको छ । सिन्ह्वा


Author

थप समाचार
x