विश्व

‘प्रधानमन्त्री मोदीको राजकीय भ्रमण महत्वपूर्ण हुनेछ’

इकागज |
जेठ ३०, २०८० मंगलबार १९:१ बजे

फाइल फोटो

वासिङ्टन - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी महिना हुने अमेरिकाको राजकीय भ्रमणले संयुक्त राज्य अमेरिका र भारतका जनताबीचको मैत्रीलाई अझ गाढा बनाउने र त्यो वास्तवमै महत्वपूर्ण हुने एक जना अमेरिकी कूटनीतिकज्ञले बताएका छन् । 

अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टन डिसीमा आयोजना गरेको एक कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्रीको भावी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी अभिवृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए । मोदीको अमेरिका भ्रमण दुवै देशका जनताबीचको सम्बन्धको प्रतिविम्ब भएको उनले बताए । अमेरिका र भारतबीचको साझेदारी लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनले उल्लेख गरे ।


“हामी एकअर्कामा विश्वास गर्छौँ, हाम्रा साझा मूल्य–मान्यता छन्,  यो राजकीय भ्रमणले दुवै देशका साझा मूल्यप्रतिको समान धारणा प्रष्ट हुन्छ, एक अर्ब ८० करोड जनसङ्ख्या भएका लोकतान्त्रिक देश अमेरिका र भारत  आपसी सहयोग बढाउँदै विश्वका निम्ति पनि केही गर्न चाहन्छन्,” परिषद्का अध्यक्षसमेत रहेका उनले भने । 

आगामी असार ६ गते हुने भारतका प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा अमेरिका–भारत उद्योग वाणिज्य संघको वार्षिक बैठकको सिलसिलामा परिषद्ले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतका राजदूत  तरनजीतसिंह सन्धुले भारत–अमेरिका सम्बन्धमा अभूतपूर्व परिवर्तन आएको बताए ।

चारदिने अमेरिका भ्रमाणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  अमेरिकी राष्ट्रपतिका राजकीय पाहुना मोदी सम्बोधनको त्यस्तो अवसर एवम् सम्मान पाउने तेस्रो भारतीय नेता हुन् । उनी अमेरिकी कङ्ग्रेसलाई दुईपटक सम्बोधन गर्ने एक मात्र भारतीय प्रधानमन्त्री पनि हुन् । भारतीय अमेरिकीहरू प्रधानमन्त्री मोदीको स्वागत गर्ने तयारीमा छन् भने अमेरिका सरकारले पनि तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । 
 


Author

थप समाचार
x