रूसका राष्ट्रपति पुटिन ब्रिक्स सम्मेलनमा सहभागी नहुने
जोहानेसबर्ग- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।
पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ ।
रूसी नेतालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) सदस्यको रूपमा प्रिटोरियाले पुटिनले देशमा पाइला टेकेको खण्डमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको थियो ।
राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ता भिन्सेन्ट माग्वेन्याले भने, “आपसी सहमतिअनुसार रूसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन शिखर सम्मेलनमा सहभागी हुनुहुनेछैन तर रूसी महासङ्घको प्रतिनिधित्व विदेशमन्त्री (सर्गेइ) लाभरोभले गर्नेछन् ।
रामाफोसाले हालैका महिनाहरूमा गरेको ‘धेरै परामर्शहरू’ पछि यो निर्णय लिइएको हो ।
दक्षिण अफ्रिका ब्रिक्स समूहको वर्तमान अध्यक्ष हो, जसमा ब्राजिल, रूस, भारत र चीन पनि सामेल छन् र यसले आफूलाई पश्चिमी आर्थिक प्रभुत्वको प्रतिरोध शक्तिको रूपमा हेर्छ ।
अगष्ट २२ देखि २४ सम्म जोहानेसबर्गमा हुने ब्रिक्स शिखर सम्मेलनका लागि पुटिनलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको थियो तर पुटिनलाई सहभागी नगर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय दबाब प्रिटोरियालाई परेको छ ।
“राष्ट्रपति रामाफोसा शिखर सम्मेलन सफल हुनेमा विश्वस्त छन् । अफ्रिकी महाद्वीप र विश्वका विभिन्न भागबाट आउने धेरै प्रतिनिधिहरूलाई आवश्यक आतिथ्य प्रदान गर्न राष्ट्रलाई आह्वान गर्नुभएको छ,” म्याग्वेनियाले भने ।
रूसले गैरकानुनी रूपमा युक्रेनी बालबालिकालाई देश निकाला गरेको आरोप लगाउँदै आइसिसीले पुटिनलाई खोजीको सूचीमा समावेश गरेको छ । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया