विश्व

इराकमा भत्काइयो तीन सय वर्ष पुरानो मस्जिदको मीनार, सम्पदा भत्काउने कार्यको विरोध

इकागज |
साउन ६, २०८० शनिबार १०:२२ बजे

बग्दाद- इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मीनार भत्काइएको छ ।  

सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन । सरकारको सो निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै स्थानियले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो ।


सन १७२७ मा बनेको ११ मिटर (३६ फिट) अग्लो मीनारलाई शुक्रबार बिहान बुलडोजरले भत्काइएको थियो र धुलोको बादलमा यसको सुन्दरता एकाएक हराएको थियो।

सो मिनारका कारण सहरको ट्राफिक समस्या समाधान हुन सकेको थिएन र यो समस्या अन्त्य गर्न बसराका गभर्नरले यसलाई हटाउन आदेश जारी गरेको भनिएको छ । तर, सुन्नी मुस्लिम इन्डोमेन्ट र पुरातात्विक अधिकारीहरूसहित धार्मिक र सांस्कृतिक अधिकारीहरूले यो योजनालाई नष्ट गर्नुको सट्टा संरक्षण र स्थानान्तरण गर्नुपर्थ्यो भन्ने तर्क गर्दा गर्दै पनि यो मिनार भत्काईएको जनाइएको छ । 

बसराका निवासी माजिद अल हुसेनीले मस्जिदको भग्नावशेषमा उभिएर भने, ‘सबैले आफ्नो सम्पदा र इतिहासको रक्षा गर्छन् र यहाँ भने हाम्रो इतिहास र सम्पदालाई नष्ट गर्छन्’

इस्लामिक राज्यले गरेका वर्षौंको उपेक्षा र द्वन्द्वले इराकको धेरैजसो समृद्ध सांस्कृतिक सम्पदा नष्ट भएका छन् । सम्पदा संरक्षणकर्ताहरू डराउँदै गएका छन् कि बगदादमा जारी निर्माण कार्यको हतार र देशभर सडक, पुल र अन्य पूर्वाधारहरू विस्तार गर्ने योजनाले यस्ता सम्पदाहरुलाई तिब्र रुपमा नष्ट गर्न सक्छ।

तर, संस्कृति मन्त्री अहमद अल बद्रानीले रोयटर्सलाई भने कि सिराजी मस्जिदको मीनारलाई नष्ट गर्न अनुमति नदिएको र स्थानीय पुरातात्विक अधिकारीहरूले यसलाई स्थानान्तरण गर्न राज्यपालसँग सहमति जनाएका थिए। 

तर, सो मिनार भत्किसकेको भन्दै संस्कृति मन्त्रालयले अब त्यसको अवशेष निकालेर संरक्षण गर्ने र त्यसैगरी मिनारको नमुना पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
 


Author

थप समाचार
x