विश्व

'सधैँ मागेर निर्वाह हुँदैन'

इकागज |
साउन १६, २०८० मंगलबार १६:३९ बजे

फाइल फोटो

इस्लामावाद - पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले चरम आर्थिक संकट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अतिआवश्यक भएको बताएका छन् । साथै उनले सधै मागेर निर्वाह नहुने बताएका छन् । 

पाकिस्तानको सर्वकालीन मित्र चीनबाट अर्को ऋण प्राप्त हुन लागेका बेला सैन्य प्रमुख मुनीरको यो भनाई सार्वजनिक भएको हो । पाकिस्तानले हालै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट पनि केही ऋण प्राप्तिको सुनिश्चितता गरेको छ । 


सोमबार खानीवाल मोडल कृषि फार्मको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका सेना प्रमुख मुनिरले पाकिस्तानीहरू देशको गर्व, जोश र जाँगर भएका प्रतिभाशाली नागरिकको देश हो अब हामीले  ‘भिखारीको कचौरा फालेर’ आत्मनिर्भर हुनैपर्छ भने । सहयोग मागेरमात्र निर्वाह नहुनेमा जोड दिँदै उहाँले भिक्षा माग्ने कचौरा फाल्नुपर्ने बताएका हुन् । 

सुरक्षा र अर्थतन्त्र एकअर्कासँग गाँसिएका र अपरिहार्य रहेका उल्लेख गर्दै उनले ईश्वरको आशीर्वाद पाएको पाकिस्तानलाई संसारको कुनै पनि शक्तिले प्रगति गर्नबाट रोक्न नसक्ने बताए । साना किसान लाभान्वित हुने गरी हरित क्रान्तिसँगै  कृषि क्रान्ति अपरिहार्य भएको उनको कथन थियो । 

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हालै दिएको जानकारीअनुसार चीनबाट पाकिस्तानले ६० अर्ब अमेरिकी डलर अतिरिक्त ऋण प्राप्त गर्दैछ । आईएमएफबाट पनि पर्याप्त रकम  ऋणस्वरुप प्राप्त हुँदैछ । नौ महिनामा सुधारका समग्र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने शर्तका साथ तीन अर्ब अमेरिकी डलरको प्याकेज उक्त वित्तीय संस्थाबाट प्राप्त हुँदैछ । 

यो वर्षको जुलाईसम्ममा पाकिस्तान सरकारको ऋण २ अर्ब ४४ करोड अमेरिकी डलर पुगेको छभने चीनसँगको २.०७ अर्ब अमेरिकी डलर छ । 
रासस


Author

थप समाचार
x