अमेरिकाले लगायो माल्दिभ्सका २० जनाविरूद्ध प्रतिबन्ध
माले, माल्दिभ्स- वासिङ्टनले माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदको हत्याको प्रयास गरेको आरोपमा एक व्यक्तिसहित इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेको आरोपमा माल्दिभ्सका २० जना नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी अर्थ मन्त्रालयले सन् २०२१ मा भएको असफल आक्रमणको आरोपमा हिरासतमा रहेका अब्दुल्ला अली मानिकको पर्यटन क्षेत्रमा आतङ्कवादी योजनासँग धेरै सम्बन्ध रहेको बताएको छ ।
सोमबार सार्वजनिक गरिएको नयाँ प्रतिबन्धले मानिकलाई आईएस भर्ती गर्ने मोहम्मद अमीनको सहयोगीको रूपमा पनि पहिचान गरेको छ । उहाँलाई सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।
सन् २००७ मा एक सार्वजनिक पार्कमा भएको बम आक्रमणमा १२ जना चिनियाँ पर्यटक घाइते भएका थिए भने अमिनले माल्दिभ्सका दर्जनौं नागरिकलाई सिरियामा युद्धका लागि पठाएका थिए ।
अमेरिकी वक्तव्यमा भनिएको छ, “द्वीपसमूह राष्ट्र मालदिभ्सको आकर्षक पर्यटन उद्योगसँग जोडिएका २९ वटा कम्पनीलाई पनि आइएससँग सम्बन्ध राखेको आरोपमा प्रतिबन्ध लगाइएको छ ।”
अमेरिकामा प्रतिबन्धित व्यक्ति वा कम्पनीहरूको कुनै पनि सम्पत्ति जफत गर्न र अमेरिकी नागरिकहरूलाई उनीहरूसँग कुनै पनि व्यापारिक लेनदेन गर्न प्रतिबन्ध लगाइएको हो ।
आतङ्कवाद तथा वित्तीय गुप्तचरका लागि अमेरिकी वित्त मन्त्रालयका उपसचिव ब्रायन ई नेल्सनले एक वक्तव्यजारी गर्दै भन्नुभयो,“विश्वव्यापी रूपमा आतङ्कवादी आक्रमणका लागि वित्तीय र अन्य सहयोगलाई रोक्ने र अवरोध गर्ने उद्देश्यले यी प्रतिबन्धहरू लगाइएको हो ।
माल्दिभ्सका अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकाले तोकेकामध्ये अधिकांशलाई स्थानीय अधिकारीहरूले नजिकबाट नियालिरहेका छन् ।
माल्दिभ्समा सुरक्षा फौजका लागि कट्टरता प्रमुख चिन्ताको विषय बनेको छ ।
सरकारले अतिवादविरुद्ध कडा कदम चालेको छ र विदेशी प्रचारकहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया