सैनिक सरकारले सुकीलाई दियो आंशिक माफी
याङ्गुन- हिरासतमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्माको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ ।
आज बुधबार पर्ने आषाढ पूजाका अवसरमा मंगलबार सात हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सूच विरुद्धका पाँच वटा मुद्दालाई मुल्तवीमा राखेर क्षमादान गरिएको हो ।
राज्य प्रशासन परिषद्का अध्यक्षले सुकीलाई माफी दिएको सरकारी खबरमा भनिएको छ । उनीमाथि भ्रष्टाचार, गैरकानुनीरूपमा सञ्चार उपकरण ‘वाकिटकी’ राखेको तथा कोरोना भाइरसविरुद्धका नियम पालना नगरेकोलगायत अपराधमा दोषी ठहर गर्दै ३३ वर्षको कारबासको सजाय तोकिएको छ ।
दुई वर्षअघि नेश्नल लिग फर डिमोक्रेसीकी नेत्री सुकीको सरकारलाई अपदस्थ गरेयता म्यान्माका विभिन्न भागमा त्यसको विरोधमा उत्रेकामाथि सैनिक सरकारले व्यापक धरपकड एवम् दमन गरेको छ भने समग्र देश रक्तपातपूर्ण हिंसाको चपेटामा परेको छ ।
सैनिक शासनविरुद्धको आन्दोलनमा करिब छ हजार सर्वसाधारण मारिएका छन् भने हजारौँ घाइते भएका विवरण सार्वजनिक भएका छन् । म्यान्माका स्थानीय निकायले तीन हजार आठ सय जनाभन्दा बढीले ज्यान गुमाएका बताएको छ भने सैनिक अधिकारीले त्यो सङ्ख्या पाँच हजारको हाराहारीमा पुगेको जनाएका छन् ।
म्यान्माको सैनिक सरकारले सङ्कटकालीन छ महिना लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ । संविधानतःसङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ । म्यान्मा परिषद्का कार्यवाहक अध्यक्ष मिन्ट स्वेले आजदेखि छ महिनासम्म सङ्कटकाल थपिएको सोमबार घोषणा गरेका थिए । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया